धनगढी- कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ।
बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन्। कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन्।
उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। विद्यार्थीमा कन्भर्सन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताए।
'बढी तनाव तथा दबाबमा पर्दा मानसिक रूपमा यस्तो समस्या आउने गर्दछ,' सापकोटाले भने, 'यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन। उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ।'
स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।