बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-५ ओसैलमा सोमबार बालुवा खानी भत्केर एक महिलाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्। घटनामा परी मृत्यु हुनेमा बित्थड चिर गाउँपालिका-५ ओसैल घर भएकी ३५ वर्षीय चाखुडी महर रहेकी छन्।
घटनामा सोही गाउँका वर्ष ३० की गम्भा महर, वर्ष ३६ की कुटुरी महर र वर्ष २८ का हरिभान महर रहेको बित्थड प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनञ्जय जोशीले जानकारी दिए।
बित्थडचिर गाउँपालिका-५ को स्वास्थ्य चौकीको भवन निर्माणका लागि मजदुरी काम गरिरहेका उनीहरु बालुवा निकाल्न लाग्दा माथीबाट ढिस्को खसेर पुरिएका हुन्।
स्थानीयले देखेपछि हतारमा ३ जनालाई बालुबाको ढिस्कोबाट निकालेर उद्घार गरेका थिए भने एक जनालाई छिटो निकाल्न नसक्दा मृत्यु भएको थियो। गम्भीर घाईते तिनै जनाको स्थानीय देउलेख प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
मृतकको पोष्टमार्टमका लागि देलेख प्राथमिक स्वास्थ्य चौकीमा ल्याईएको प्रहरीले बताएको छ। उच्च पहाडमा रहेको यस गाउँपालिकामा गिट्टी बालुवाका लागि पहाडका भित्ताहरुबाट बालुवा निकाल्ने प्रचलन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।