काठमाडौं- जिल्ला अदालत चितवनले गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मतपत्र च्यात्ने नेकपाका दुई कार्यकर्तालाई जनही एक-एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
चितवन जिल्ला अदालतले जेठ ३० गते मुद्दाका दुई आरोपीलाई दोषी ठहर गरेको थियो।
सोमबार जिल्ला अदालतले उनीहरुलाई सजाय निर्धारण गरेको हो।
तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई जनही १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताए।
जिल्ला न्यायधीश मुरारीबाबु श्रेष्ठको एकल इजलासले सो मुद्दामा कसुर ठहर हुने आदेश दिएको थियो। सजाय निर्धारणको फैसला पनि श्रेष्ठकै इजलासले गरेको हो।
निर्वाचनसम्बन्धी कसुरमा गएको जेठको ३० गते कसुर ठहर भएको थियो। महानगरपालिकामा भएको स्थानीय तहको चुनावमा मतगणना हुँदैगर्दा मतपत्र च्यातिएको थियो।
महानगरपालिकाको वडा-१९ को मत गणना हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्र च्यातिएको थियो। घटनास्थलबाटै प्रहरीले सिवाकोटी र न्यौपानेलाई पक्राउ गरेको थियो। घटनाका दोषीलाई कारबाहीको माग गर्दै शिवाकोटी र न्यौपानेविरुद्ध २०७४ सालको जेठ १७ गते अदालतमा मुद्दा दायर गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।