जतिबेला अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘ड्रिम्स’बाट अनमोल केसीको को–एक्टरका रुपमा नेपाली फिल्ममा भित्रिएकी थिइन्,त्यतिबेला एकाएक उनको चर्चा चुलिएको थियो। समीक्षक देखि दर्शक सबैले फिल्म हेरेर अनमोलभन्दा बढी उनको तारिफ गरेका थिए।
नेपाली फिल्म बजारमा उनको भाउ एकाएक बढेको थियो। त्यसपछि उनको चर्चालाई ‘क्यास’ गर्न खोज्ने निर्मातानिर्देशक बढे। माग बढेपछि भाउ नबढ्ने कुरै भएन! उनी पनि फिल्म छानेरमात्रै खेल्न थालिन्, त्यो पनि आफूले मागेअनुसार पारिश्रमिक दिएमात्र।
अभिनेत्री झरना थापाले पहिलोपल्ट निर्देशन गरेको ‘ए मेरो हजुर–२’ उनको दोश्रो फिल्म बन्न पुग्यो। फिल्मले समीक्षा राम्रो नपाएपनि व्यापार भने राम्रै ग-यो। त्यसपछि त बजारमा ‘साम्राज्ञीको स्टारडमले काम गर्ने रैछ’ भन्ने दाबी बढ्न थाल्यो।
उनलाई फिल्ममा लिनका लागि अफर गर्नेहरुको संख्या झन बढ्न थाल्यो। तर विडम्बना त्यसपछि त संख्यामात्रै बढ्यो, स्तर बढेन। न उनले अभिनय गरेका फिल्महरुले राम्रो व्यापार गरे, न राम्रो समीक्षा बटुले। ‘तिमी सँग’ र ‘कायरा’ लगातार फ्लप भए। ‘इन्टु मिन्टु लन्डनमा’ले हल्का राहत दिलायो।
साम्राज्ञीकै ‘स्टारडम’प्रति आश्वास्त भएर निर्मात्री पूनम गौतमले फिल्म बनाइन्, ‘मारुनी’ । दाबीअनुसार फिल्मका लागि उनलाई १५ लाख पारिश्रमिक दिइयो। फिल्म भदौ–१३ गते प्रदर्शन हुने तयारीमा छ। यही दिन अर्को अपेक्षित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ पनि रिलिज हुँदैछ।
एकातिर आफ्नो खस्किँदो स्टारडम, अर्कोतिर जुध्न आएको अर्को बिग ब्यानरको फिल्म। पक्कै पनि आफ्नो ओरालो लागिरहेको करिअरलाई लिएर साम्राज्ञी अचेल चिन्तित छिन्।
तैपनि धैर्य गरौं न, कतै ‘मारुनी’बाट साम्राज्ञीको खस्किँदो स्टारडम उक्ली हाल्ने पो हो कि!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।