जनकपुर- सर्लाहीमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाको प्रदेश सरकारले छानबिन गर्ने भएको छ। घटना छानबिनका लागि प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अरुणकुमार झाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।
घटनाको सत्य तथ्य पत्ता लगाई यथाशीघ्र दोषीमाथि कारबाहीको सिफारिस गर्न गठित छानबिन समितिलाई निर्देशन दिएको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा अवैध ढुंगागिट्टी उत्खनन गर्दा बनेको खाल्टोमा डुबेर १२ वर्षीय अमित कुमार यादवको मृत्यु भएको घटनाको विरोधमा राजमार्ग अवरुद्ध गर्न पुगेका प्रहरी र स्थानीयबीचको झडपमा प्रहरीले गोली चलाएको थियो। प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ढुंगामुढा गरेपछि सुरुमा लाठी चार्ज, १५ राउन्ड अश्रु ग्यास र रबरको बुलेट प्रहार भएको थियो। त्यसपछि पनि प्रदर्शनकारीले ढंगामुढा तीव्र गरेपछि प्रहरीले हवाई फायर गरेको थियो। प्रहरीका अनुसार हवाई फायरकै क्रममा गोली लागेर केवल महतोको मृत्यु भएको हो। झडपमा ११ जना घाइते भएका छन्, जसमा ८ जना प्रहरी र ३ जना स्थानीय छन्।
यता प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सामान्य विवादको क्रममा प्रहरीले गोली चलाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रहरीले चलाएको गोली मृतकको टाउकोमा लागेको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न समिति गठन गरेको जानकारी दिए।
मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने यादवको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।