जनकपुर- सिरहाको लहानमा भएको सडक दुर्घटनामा परी २ महिलासहित ३ जनाको मृत्यु भएको छ। लहान नगरपालिका-११ पडरिया चौकमा सोमबार अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा २ महिलासहित ३ जनाको मृत्यु भएको हो।
सो म्याजिकमा सवार १ दर्जन घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चौकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना ८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह १ बजेतिर पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो।
म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायव निरीक्षक मनोज चौधरीले जानकारी दिए।
घाईतेहरुको उपचार लहानस्थित रामप्रसाद उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा नरसिंह होमहरुमा भईरहेको ईप्रका लहानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।