चितवन- नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी छन्। घाइते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल छन्। घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बरालको अवस्था गम्भीर छ। मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा८०प ८६५७ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२९ खहरे पुलमा आइतबार राति एकापसमा ठक्कर खाएका थिए। ठक्कर खाँदा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।