आज पनि उत्तिकै सम्झिरहेको छु
उनी गएपछि
हामीले खेलेको बगरको किनारामा
बनाएको घर कैयौं पल्ट ढल्यो होला
तर समयले छुटाए पनि
कहिल्यै ढलेन आशाहरु
टुटेन कहिल्यै विश्वासका ताराहरु
हामीले छोएको त्यो नदीको पानी
कैयौं संसार घुम्यो होला
त्योभन्दा बढी घुमेको
तिम्रो स्मृति मेरो आँखामा
आज पनि उत्ति नै साक्षी छन्
म नगएको कुनै पल रहेन
जहाँ तिम्रो हाँसो छोडिएको थियो
जहाँ तिमी र म भाँडाकुटी खेल्दा
सपनाहरु बुनेका थियौं
अनि कति पटक त तिम्रो सिउँदो
बालुवाले भरेको थिएँ
हो, त्यही बगर साक्षी छ
सोध नदीसँग
जहाँ मेरा आँसु मिसिएका छन्
नदीमा हेर्दै आफ्नो तस्बिरसँगै सोध्थ्यौं
'के हामी पनि मायालाई यसैगरी
सागरसम्म पुर्याउन सक्छौ?'
आज सपना जस्तै लाग्छ होला तिमीलाई
जब क्षितिजमा घाम डुब्दै जान्थ्यो
आकाशबाट जून अनि ताराले जिस्क्याउँथ्यो
अनि हामीभित्र लुकेको प्रेम
छताछुल्ल धर्तीमा पोखिन्थ्यो
र उनीभित्र रहेका हिमाल पहाड
झरना छाँगा र छहरासँग
मस्त खेलिरहन्थे
साक्षी छ त्यही रात, जुन रात हामी मात्तिएका थियौं
पोखिएका थियौं
आज त्यस्ता कैयौं रात
एक्ल-एक्लै मारिसके
हामीले छोएको नदी सागर बनिसक्दा पनि
जूनले कैयौं रात पर्खिंदा पनि
त्यही घाम उदाउने
क्षितिजमा बूढो रुख जस्तै भएर
जहाँबाट बिलाएकी थिइन्
त्यहीँ उनको प्रतीक्षामा
बसिरहेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।