पशुपतिनगर- उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन्। किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५ सय किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काइएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन्।
किसानले आइतबार साँझ नगरपालिकाअगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका छन्। यसअघि किसान र उद्योगीले सहमतिमा चिया खरिदबिक्री गर्दै आएकोमा नगरपालिकाले 'चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५' लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलो ग्राम ४० रुपैयाँ कायम गरेको थियो।
उद्योगीले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरिद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए।
उद्योगीको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आबद्ध ५२ वटा चिया कारखाना एकैपटक बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो।
समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो। उद्योग सञ्चालनमा आएको १२ घन्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानले अर्को आन्दोलन थालेका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।