राजविराज– निर्माण कार्यको भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिका पदाधिकारीले आइतबार छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा तालाबन्दि गरेका छन्।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार मण्डलको अगुवाइमा गाउँपालिका कार्यालयमा तालाबन्दि गरिएको हो।
सडक निर्माण सम्पन्न भएको एक महिना बितिसक्दा पनि भुक्तानी रकम रोकेर राखेपछि बाध्य भएर तालाबन्दि गर्नुपरेको उपभोक्ता समितिका सचिव सन्तोष मण्डलले बताए। ‘रकम लिन पटक-पटक प्रयास गर्यौं। तर, कसैले वास्तै गर्दैन,’ उनले भने, ‘सुनुवाइ नै हुन छोडेपछि यो अवस्था आयो।’
छिन्नमस्ता गाउँपालिका –३ स्थित मुक्तिलाल मण्डलको घरदेखि शंकर मण्डलको घरसम्म जाने ८९ मिटर बाटो आरसिसी ढलान गर्न गाउँपालिकाले राजकुमार मण्डलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो। कूल १० लाख रुपैयाँमा ९५ मिटर काम गर्दा पनि दुःख दिन थालेपछि तालाबन्दि गर्नु परेको सचिव सन्तोष मण्डलको भनाइ छ।
‘हामीले तोकिएभन्दा ६ मिटर बढी काम गरेका छौं। भुक्तानी मागेको १ महिना पुग्यो,’ सन्तोषले भने, ‘तर, कमिसन नदिएपछि कहिले प्रशासकीय अधिकृत छैन त कहिले इन्जिनियर छैन भन्दै दुःख दिइरहेका छन्।’
सोमबारसम्म भुक्तानीको प्रकृया अघि नबढाए गाउँपालिकाअन्तर्गतका ७ वटै वडावाट उपभोक्ता समिति जम्मा गरेर अनिश्चित रुपमा तालाबन्दि गर्ने उनले चेतावनी दिए। ‘गाउँपालिकाले एक पैसा दिएको छैन, सवैले ऋण/सापट गरेर काम गरेका छन्,’ उनले थपे, ‘अन्तिम समयमा कमिसन मागेर पैसा रोकेपछि अर्को उपाय के गर्ने?’
यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डलले भने आफू बैठकमा भएको बताउँदै प्रतिक्रिया नै नदिइ फोन काटिदिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।