एजेन्सी– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अंग्रेजी नयाँ वर्ष २०१८ का अवसरमा गरेको टेलिभिजन सम्बोधनमा अमेरिकालाई चेतावनी दिएका छन्।
नेता उनले परमाणु बम प्रहार गर्ने बटन आफ्नो डेस्कमैै जडान भएकाले उत्तर कोरियामाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिए। अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्नुअघि नै आफूले अमेरिकामाथि प्रहार गरिसक्ने संकेत उनको थियो।
टेलिभिजन सम्बोधनमा नेता उनले पूरै अमेरिका उत्तर कोरियाली आणविक मिसाइलको प्रहार क्षेत्रभित्र रहेको भन्दै यो तथ्य धम्की नभएर वास्तविकता भएको पनि उल्लेख गरे। तर, छिमेकी देश दक्षिण कोरियाप्रति भने यसपल्ट नेता उन केही नरम देखिए। उनले आफू दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको संकेत दिए।
नेता उनले सोलमा हुने ‘विन्टर ओलम्पिक’मा उत्तर कोरियाले भाग लिनसक्ने बताए।
नेता उन सत्तारुढ भएपछि उत्तर कोरियाले निरन्तर गरिरहेको मिसाइल र आणविक परीक्षणका कारण उसमाथि संयुक्त राष्ट्र संघसहित अन्तर्राष्ट्रिय समुदायले अनेकौं नाकाबन्दी लगाएका छन्। उत्तर कोरिया विश्वसँग एक्लिएर बसेको छ। उसको कूटनीतिक सम्बन्ध भएको देश चीन मात्र हो।
तमाम विरोधको बेवास्ता गर्दै उत्तर कोरियाले भूमिगत रूपमा ६ वटा आणविक परीक्षण गरिसकेको छ। सन् २०१७ नोभेम्बरमा उसले ह्वासोङ–१५ मिसाइल परीक्षण गरेको थियो। यो मिसाइलले ४ हजार ४ सय ७५ किलोमिटरसम्म प्रहार गर्न सक्छ। यो दूरी अन्तरिक्षमा स्थापित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको दूरीभन्दा १० गुणा बढी हो।
उत्तर कोरियाले आफूसँग प्रहार गर्न तम्तयार आणविक शस्त्र रहेको दाबी गर्दै आएको छ। तर, अन्तर्राष्ट्रिय समुदायले भने उसको दाबीमाथि शंका गर्दै आएको छ।
नयाँ वर्षका अवसरमा गरेको सम्बोधनमा नेता उनले हतियारमा आधारित आफ्नो नीतिमाथि एकपल्ट फेरि जोड दिए।
नेता उनले भने, ‘उत्तर कोरियाले ठूलो परिमाणमा आणविक हतियार र ब्यालेस्टिक मिसाइल निर्माण गर्नुपर्छ र तीव्र गतिमा तैनाथ गर्नुपर्छ।’
सन् २०१८ मा उत्तर कोरिया स्थापनाको ७० वर्ष हुन्छ। दक्षिण कोरियाले भने यस वर्ष फेब्रुअरीमा विन्टर ओलम्पिक आयोजना गर्दैछ।
नेता उनले अर्को महिना सोलमा हुने विन्टर ओलम्पिकमा उत्तर कोरियाली खेलाडीको टोली पठाउने विचार गरिरहेको बताएका छन्। दक्षिण कोरियाले उत्तर कोरियाको यस्तो कुनै प्रयासको स्वागत गरिने जनाएको छ।
‘विन्टर ओलम्पिकमा उत्तर कोरियाली सहभागिताले दुवै एकजुट हुने उपयुक्त अवसर हुनेछ’, नेता उनले भने, ‘म प्रार्थना गर्छु, ओलम्पिक सफलतापूर्वक सम्पन्न होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।