काठमाडौं- भूकम्पले क्षति पुर्याढएका नौ सय ४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण पूरा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।
गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २ सय १२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो। हाल ९ सय ६५ आयोजनाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए।
यो आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ बजेट छुट्याइएको प्राधिकरणले जनाएको छ। पुनःनिर्माण सम्पन्न भइसकेका र भइरहेका गरी एक हजार ८ सय ६९ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।
खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणको प्रगति ५८ प्रतिशत पुगेको प्रवक्ता भुसालले बताए। आयोजना पुनःनिर्माणका लागि सरकारको आह्वानमा विकास साझेदार संस्थाले सहयोग गरेकाले छिटो पुनःनिर्माण सम्पन्न हुन सकेको प्राधिकरणले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।