जनकपुर- धारामा घन्टौं लाम। बस्ने ठाउँको अभाव। खानासमेत उभिएर खानुपर्ने। पालो कुरेर शौचालय छिर्नुपर्ने।
महोत्तरीको जलेश्वर कारागारको दृश्य हो यो।
गर्मीको यस्तो उकुसमुकुसमा पनि कोचिएर बस्न बाध्य छन् कैदीबन्दीहरु। बढ्दो कैदी संख्याले जलेश्वर कारागार यतिबेला भरिभराउ छ। क्षमता विस्तार र सेवासुविधा नथपिने तर कैदी मात्र बढ्दा कारागारमा मानवीय समस्या देखिन थालेको छ।
पानी, स्थान र शौचालय जस्ता आधारभूत आवश्यकताका लागि कैदी बन्दीबीच दिनहुँ तनाव, झडप, विवाद र नाराबाजी हुने गरेको छ।
जेलर चिरिञ्जीवी थापाका अनुसार कारागारमा देखापरेका यी समस्याको मूल कारण क्षमताभन्दा तेब्बर कैदीको संख्या नै हो। १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागारको कैदी क्षमता १ सय ३५ मात्र हो। तर यहाँ ४४ महिला र ४ सय ९ पुरुष र ३ आश्रित बालबालिकासहित ४ सय ५३ जना कैदी छन्।
.jpg)
'यो संख्या क्षमताको झन्डै चार दोब्बरले बढी हो। बढ्दो कैदी संख्याले मानवीय समस्या मात्र बढाएको छैन,' जेलर थापाले भने, 'यसले व्यवस्थापन र प्रशासनिक जटिलता थपेको छ।’
चौकीदार श्रीनारायण साहले कैदी संख्या अत्यधिक भएपछि स्थान अभावमा एक कैदीलाई सुत्न १४–१५ इन्चजति पनि ठाउँ नपुग्ने गरेको अवस्था रहेको बताए।
केही समयअघि सरुवा भएका जेलर थापाको बुझाइमा मुख्यतः दुई कारणले जलेश्वर कारागारमा समस्या बढी देखिएको हो । धनुषा जिल्लामा कारागार नहुनु र सर्लाही जिल्लाका कैदीसमेत यहीँ थपिनु।
मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले लोकतन्त्र बहाली भएको यति वर्षपछि पनि मुलुकका ठूल्ठूला नेता बसेको जलेश्वर कारागार सुविधा र मानवीय दृष्टिले अहिले पनि राणाकालकै अवस्थामा हुनु दु:खदायी र आपत्तिजनक रहेको बताए।
यस कारागारमा रहेका ९० प्रतिशत कैदीबन्दी धनुषाका हुन्। सर्लाहीको मलंगवाबाट समेत यहीँ पठाउँदा अवस्था जटिल बन्दै गएको जेलर थापाले बताए। दुई जिल्लालाई थेग्न गरी कारागार यहाँ रहनु तथा सर्लाहीमा पनि निर्माणाधीन रहनुले कैदीबन्दी बढ्दै गएको हो।
.jpg)
यसरी महोत्तरी र धनुषाका लागि जलेश्वरमा रहेको एकमात्र जिल्ला कारागार दिनप्रतिदिन यातनागृहमा परिवर्तन हुँदै गएको छ। सरोकारवाला निकायहरुले जिल्ला कारागारको अहिलेको भवनलाई नयाँ नबनाएसम्म सुधारगृहमा परिवर्तन गर्न गाह्रो हुने जनाएका छन्।
निकै पुरानो र जीर्ण भवन, क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी तथा कैदीबन्दीको संख्या अनुसार शौचालय, धाराको अभाव हुनुले यातनागृह बनेको अधिकारकर्मी तथा पत्रकार राकेश चौधरीले बताए।
कैदीबन्दीलाई पालैपालो सुत्नुपर्ने अवस्था छ। शौचालय जान पनि दुई घन्टाभन्दा बढी पखर्नुपर्ने बाध्यता रहेको छ।
'कारागारलाई जतिसुकै सुधारगृहको रुपमा लग्ने कोसिस गरे पनि आधारभूत आवश्यकता नै पूरा नभएपछि कसरी सुधारगृह बनाउन सकिन्छ?' नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले प्रश्न गर्दै भन्छन्, 'जीर्ण कारागार र क्षमताभन्दा बढी कैदीबन्दीका कारणले कैदीबन्दीहरुलाई ज्यादै नै कष्ट भोग्नुपरिरहेको छ।’
करिब २ बिघामा रहेको कारागारमा कैदीबन्दीहरुलाई अन्य कारागारमा स्थानान्तरण गरिए पनि समस्या तस्ताको तस्तै छ। केही महिनाअगाडि मात्रै माथिल्लो तल्लाका भवन चर्किएपछि र ठाउँ अभाव भएपछि ६ जना कैदीबन्दीलाई झुम्का कारागार सारिएको थियो । कारागारलाई सुधारगृह बनाउन कम्तीमा पनि ५/६ बिघा जग्गामा भवन निर्माणसहित अन्य पूर्वाधारहरु निर्माण गरिनुपर्ने आवश्यकता देखिएको छ।
रोगी बन्दै कैदीहरु
'कि करु हजुर..! जान आब पहाड भगेल (के गरौं हजुर, आफ्नो ज्यान नै पहाड भयो)’, कारागारमा कैदी जीवन बिताइरहेका ८० वर्षीय मटर साफीले गर्मीको कारण आकुलव्याकुल हुँदै भने। बूढो उमेरमा जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरिरहेका साफी अत्यधिक गर्मी बढ्दै गएसँगै उचित खानपिन नहुँदा श्वासप्रश्वासको समस्याले पीडित छन्।
कारागारका कर्तव्य ज्यान मुद्दाका अर्का कैदी ७० वर्षीय रामदेव मुखियाको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदैछ। साफी र मुखियामात्र नभएर गर्मी बढेसँगै कारागारमा कैदी बिरामी हुने क्रम ह्वात्तै बढेको छ। कारागारमा दम, रुघाखोकी, ज्वरो, निमोनियाँ र लुतो लगायतका रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ।
पछिल्लो पटक गर्मी बढेसँगै श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरूको उपचार राम्रो नहुँदा आफूहरूलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको नाम बताउन नचाहने पुरुषकक्षका अर्का एक कैदीले टिप्पणी गरे।
कारागारमा थेग्न नसक्ने कैदी न्यायिक निकायले पठाइदिने गरेपछि उनीहरूको बसाइ व्यवस्थापन मिलाउन गाह्रो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ। अहिले दिनहुँ नियमित उपचार लिनेको संख्या १२५ को हाराहारीमा रहेको बताइएको छ।
शौचालय जान घन्टौं कुर्नुपर्छ
कारागारमा ठाउँको अभावसँगै, सीमित शौचालय र धारामात्र हुँदा दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घन्टौं पालो कुर्नुपर्ने तथा सुत्नबस्न नै ठाउँ नपाउँदा निकै गाह्रो भइरहेको कैदीको गुनासो छ।
महिलाकक्षका ४४ कैदीका लागि एक वटा धारा र शौचालय मात्र छ। त्यसैगरी पुरुषकक्षका ४०९ जनालाई चार–चार धारा र शौचालयमात्र हुँदा दिसापिसाबका लागि घन्टौं कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने पुरुषकक्षका एक पाका कैदीले गुनासो गरे। नियमित सरसफाइ गर्न नपाएर नापेर दिएको चार हात जमिनमा खाँदिएर बस्नु र सुत्नु पर्दा धेरैलाई लुतो भएको पुरुषकक्षका एक कैदीले बताए।
.jpg)
'के गर्नु हजुर, नुहाउन नपाको कति दिन भइसक्यो,’ पुरुषकक्षका ६० वर्ष उमेरका एक कैदीले आफ्नो लुंगी उचालेर घाउरखटिरा देखाउँदै भने, 'आफैले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुने भो।’
कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौंपटक आग्रह गरिए पनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ।
खासगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पुर्पक्ष थुनुवाको संख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले पठाउने कैदीको संख्या निकै बढेकाले कारागारको आन्तरिक व्यवस्थापन पनि अस्तव्यस्त हुने गरेको हो। कारागारमा अहिले रहेका ४५ कैदीमध्ये ६० प्रतिशत पुर्पक्ष थुनुवा रहेको जेलर थापाले बताए।
संवत् १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले निर्माण गराएको यो कारागार त्यसयता उचित मर्मतसम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ। पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेन्टको टुक्रा दिनहुँ उप्केर झर्ने क्रम जारी छ।
आफू कानुनी परिबन्दले थुनिनुपरेको गुनासो गर्ने गरेका एक थुनुवाले विरक्तिँदै भने, 'अरु त अरु, यहीँ किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले रातदिन सताउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।