भर्खरै २४ औं वार्षिकोत्सव मनाएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कर्मचारीको तलब भत्ता र सेवा–सुविधा वृद्धि, प्रतिष्ठानमा भएका स्वास्थ्य सेवाको विस्तार र गुणस्तर वृद्धि लगायतको माग राखेर कर्मचारी आन्दोलनमा उत्रिँदा काम प्रभावित भएको छ।
प्रतिष्ठानको आर्थिक पारदर्शीता र सेवा–सुविधासँग जोडिएको माग राख्दै कर्मचारी कल्याण समाजको आव्हानमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। कर्मचारी समाजले मागको सुनुवाई नभए आन्दोलन कडा पारिने चेतावनी समेत दिएका छन्। दैनिक ३ घण्टा प्रतिष्ठानमा धर्ना बसिरहेको समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए। विहान ८ बजे देखि ११ बजेसम्म ३ घण्टा उपकुलपतिको कार्यालय अगाडि कर्मचारीहरुले धर्ना दिए ।
एमआरइ मेशिन खरिद, मुटु र क्यान्सर अस्पताल भवनको परमार्शदाता छनौट लगायत विभिन्न खरिद, निर्माणका कार्यमा भ्रष्टचार र अनियमिता भएको कर्मचारी समाजको आरोप छ। उनीहरुले छानविन गर्न माग गरेका छन्।
समाजले गठन गरेको छानवीन समितिलाई आवश्यक कागजात दिन अस्विकार गरेपछि थप शंका उत्पन्न भएको भन्दै सरकारले नै छानविन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको अध्यक्ष तामाङले बताए।
‘अपारदर्शी ढंगले काम भएको छ। हाम्रो माग सुनवाई भएन भने कडा आन्दोलनमा उत्रिँने छौ’, तामाङले नेपाल लाइभसँग भने।
प्रतिष्ठानका कर्मचारीले उच्चस्तरीय तलबमान आयोगको व्यवस्था खारेज गरी महंगी वृद्धि दर वा नेपाल सरकारले वृद्धि गरेअनुसार तलब भत्ता वृद्धिको माग गरेका छन्। ज्यालादारीलाई करारमा नियुक्ति गर्न र स्वास्थ्य कल्याण योजनाको व्यवस्था ल्याउन उनीहरुको माग छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।