धनगढी- कैलालीमा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मलखादको बिक्री-वितरणमा मनपरी भइरहेको किसानले गुनासो गरेका छन्।
प्रभावकारी अनुगमन हुन नसक्दा अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको उनीहरुको गुनासो छ । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झन्डै दोब्बर बढीमा खरिद गर्नुपरेको किसानले बताएका छन्।
'सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेको छ । तर, बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन्', किसान वीरे चौधरीले बताए।
अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले जिल्लाका सहकारी संस्थामार्फत मलको बिक्री-वितरण गर्दैआएका छन् ।आधिकारिक बिक्रेताबाट मात्र बिक्री गर्नुपर्ने सो मल कैलालीका एग्रोभेट लगायतका व्यापारिक पसलबाट तोकेभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे भने बिवितरण प्रणालीकै समस्याका कारण किसानले सहुलियत नपाएको तर्क गर्छन्।
'मलको बिक्री-वितरणमा अपनाइएको प्रणाली नै गलत छ', उनले भने, 'यसैले रासायनिक मलमा राज्यले दिएको अनुदान किसान समक्ष पुग्न सकिरहेको छैन।'
कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले आ–आफ्ना अधिकृत बिक्रेतामार्फत मल बिक्रीको व्यवस्था गर्न सके किसानले सुलभ मूल्यमा सहज ढंगले मल पाउने पाण्डेको भनाइ छ ।
यी दुई संस्थाले ५० किलो बोराको अनुदानको युरिया मलको ८२६ रुपैयाँ, डिएपीको दुई हजार २७६ रुपैयाँ तथा पोटासको एक हजार ६७६ रुपैयाँ बिक्री मूल्य तोकेकामा बजारमा युरिया मल प्रतिकिलो ३० रुपैयाँ, डिएपी ६० रुपैयाँ र पोटास ६० रुपैयाँमा बिक्री भइरहेको छ।
दुवै संस्थाले आफ्ना अधिकृत बिक्रेता (सहकारी संस्था) लाई मल बिक्री गर्दा प्रतिबोरामा १२ देखि र ५० रुपैयाँसम्म छुट दिने गरेको छ । सो मल बिक्री गर्दै आएका कतिपय सहकारी संस्थाले आफूखुशी मूल्य तोकेर बिक्री गर्ने गरेका किसानले बताएका छन्।
मल बिक्री गरी मनग्य आम्दानी गर्न पाइने भएपछि कैलालीमा मल बिक्री गर्नेतर्फ केन्द्रित भई सहकारी संस्था धमाधम स्थापना हुने क्रम बढेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।