ताप्लेजुङ- ताप्लेजुङको सुकेटार विमानस्थलबाट लामो समयदेखि उडान नहुँदा यात्रु मर्कामा परेका छन् ।
कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्वारका रुपमा रहेको विमानस्थल खराब मौसमका कारण असारदेखि बन्द छ । उडान रोकिएपछि बाह्य तथा आन्तरिक पर्यटक कठिन यात्रा गर्न बाध्य छन् । सुकेटारमा नेपाल वायुसेवा निगमले साताको दुई पटक काठमाडौं–ताप्लेजुङ उडान भर्दै आएको थियो।
मेची राजमार्गअन्तर्गत पहाडी सडकमा पहिरो झर्ने र दुर्घटनाको जोखिम अत्यधिक हुने भएकाले प्रायः यात्रुले हवाई यात्रा नै रोज्ने गरे पनि सेवा बन्द हुँदा यात्रु समस्यामा पर्दै आएका छन् । बिरामीले पनि उपचारका लागि जान हवाई सेवा उपभोग गर्ने गरेका थिए।
बाह्य तथा आन्तरिक पर्यटकको ओहोरदोहोर निकै बाक्लो हुने ताप्लेजुङमा हवाई सेवा प्रभावित हुँदा पर्यटनमा पनि असर परेको पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । निगम ताप्लेजुङका प्रमुख विकास राईले दशैं नजिकिँदै जाँदा उडान नहुँदा टिकट बुकिङ गर्न नसकिएको र मौसममा सुधार आए उडान हुन सक्ने बताए।
कालोपत्रे गरेर दोहोरो धावन मार्ग निर्माण भएसँगै बाह्रै महिना जहाज सञ्चालन हुने भनिए पनि उडान ठप्प हुँदा स्थानीयवासी आक्रोशित बनेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।