काठमाडौं– हरेक महिना खाडी लगायत मुलुकमा ४० हजारभन्दा बढी नेपाली रोजगारीको खोजीमा पुग्ने गर्छन्। रोजगारीमा पुगेका मध्ये बर्सेनि ६ सयभन्दा बढीले ज्यान गुमाउँछन्। हरेक वर्ष ३ सयभन्दा बढी कामदार अंगभंग तथा खतरनाक रोगको सिकार बनेर फर्किन्छन्।
रोजीरोटीकै लागि परदेश पुगेका २५ जना नेपाली कामदार खाडी मुलुकका कोमा (अचेत अवस्था) मा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। जसमध्ये २२ जना पुरुष र ३ जना महिला छन्।
कतारका विभिन्न अस्पतालमा सबैभन्दा बढी ९ जना कोमामा छन्। साउदीको रियादमा ४ जना र साउदीको जेद्धामा एक जना कोमामा छन्। ओमान, कुवेत, बहराइन, युएई लगायत मुलुक पुगेका कामदार पनि कोमामा रहेका छन्।
कसरी पुग्छन् कोमामा?
रोजगारीका लागि खाडी पुगेका कामदार कार्यस्थलमा वा सडक दुर्घटनामा परेर घाइते भई कोमामा पुग्ने गरेका छन्। विभिन्न जोखिमपूर्ण रोगले आक्रमण गरेपछि पनि कोमामा पुग्ने अवस्था सिर्जना हुने गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
धेरैजसो कार्यस्थलमा दुर्घटनामा परेर कोमामा पुग्ने गरेको बोर्डका उपसचिव दीनबन्धु सुवेदी बताउँछन्। ‘कोमामा नेपाली कामदार निकै जटिल अवस्थामा छन्,' उनले भने, 'त्यस्ता कामदारलाई फर्काएर उपचार गराउने सरकारले तयारी गरिरहेको छ।'
उनले भनेझैं खोटाङ बाह्रपोखरी गाउँपालिका २ का गंगाबहादुर मगर सडक दुर्घटनामा परे। ९ महिनादेखि कुवेतको एक अस्पतालमा उनी अचेत अवस्थामा लडिरहेका छन्। २०७५ असार ३ गते उनी कुवेत उडेका थिए। त्यहाँ पुगेको दुई महिनापछि कामबाट डेरा फर्कँदै गर्दा उक्त घटना भयो। गाडीले हानेपछि उनी बेहोस भएको पत्नी दिलकुमारीले बताइन्।
गाडीको ठक्करबाट टाउकोमा गहिरो चोट लागेर बेहोस बनेका गंगाबहादुरको होस् अझै खुल्न सकेको छैन।
कोमाबाट पुनर्जीवन पाउनेहरु पनि छन्। यस्तैमा एक हुन्, पाँचथर ओयाम ९ का केशन माबो लिम्बू।
रोजगारीका लागि मलेसिया गएका उनी कार्यस्थलमै दुर्घटनामा परे। २०१७ जुलाई २३ मा काम गरिरहेको बेला मेसिन अचानक माथिबाट झर्यो। उनी तत्कालै ढले। टाउकोमा गम्भीर चोट लागेकाले उनलाई केही पनि थाहा भएन। '१४ दिनपछि मात्रै होस खुल्यो,' उनी भन्छन्, 'त्यत्रो दुर्घटनापछि मैले पुनर्जन्म पाएँ।’ केशनको टाउकोमा ६ सेन्टिमिटर गहिरो चोट लागेको थियो भने २८ वटा टाँका लगाइएको थियो।
कोमाका बिरामीलाई फर्काउने तयारी
वर्षौंदेखि विदेशमा कोमामा रहेका नेपालीलाई सरकारले स्वदेश फर्काई उपचार गराउने तयारी थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसबारे गृहकार्य थालिसकेको छ।
कोमाका बिरामीलाई स्वदेश ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल बनाउन लागिएको छ। जसमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहनेछन्। वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिवसमेत उक्त कार्यदलमा रहनेछन्।
कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीको संकलित तथ्यांकमाथि छानबिन गरी नेपाल ल्याउने प्रक्रिया/मापदण्ड सम्बन्धमा र नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेस गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।