काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाबीच वाकयुद्ध जारी छ। डा भट्टराईले केही समयअघि कांग्रेसलाई 'म्युजियममा राख्नुपर्ने पार्टी' भनेर टिप्पणी गरेपछि सुरु भएको उनीहरु बीचको दोहोरी झन् पेचिलो बनेको हो।
राप्रपाले पूर्व राजाहरु पृथ्वीनारायण शाह र महेन्द्र शाहसँगै कांग्रेस नेता बिपी कोइरालालाई आदर्श मान्ने निर्णय गरेपछि फेरि उनीहरु सामाजिक सञ्जालमा सवाल–जवाफमा उत्रिएका हुन्।
उक्त निर्णयपछि समाजवादीका अध्यक्ष डा भट्टराईले ट्विटरमा टिप्पणी गरे, 'बिपीलाई अब राप्रपाले अपहरण गरेछ! बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो! बिपीको आत्माले के भन्दै होला? कांग्रेसी मित्रहरू हो, पहिले अपहरित बिपीको रक्षा त गर। बाबुरामको क्षमापूजा पछि गरौला! हामी साथ दिन तयार छौं!'
मंगलबार बिहान गगनले ट्विटरमै उक्त टिप्पणीको जवाफ फर्काए। उनले भट्टराईलाई सम्बोधन गर्दै लेखे, 'डाक्टर साब, चिन्ता नगर्नुस् । बिपीको विचार कांग्रेसको आत्मा हो। जसरी हिजो त्यसलाई तपाईंको 'जनसरकार'को हत्या र हिंसाले समाप्त पार्न सकेन। आज पनि राप्रपाले अपहरण गर्न सक्दैन।'
त्यसअघि पनि यी दुईबीच सवाल-जवाफ भएको थियो। डा भट्टराईले कांग्रेसलाई 'म्युजियममा राख्नुपर्ने पार्टी'को संज्ञा दिएका थिए भने थापाले उनलाई गोरखामा जिताउन सहयोग गर्नु भूल भएको भन्दै क्षमा पूजा गर्नुपर्ने जिकिर गरेका थिए।
चुनावी तालमेलका क्रममा गोरखामा कांग्रेसले डा भट्टराईलाई सघाएको थियो।
उक्त तालमेलमा तत्कालिन नयाँ शक्तिले गोरखा–२ मा समर्थन गरेबापत कांग्रेसलाई रसुवामा जिताएको डा भट्टराईले दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।