पोखरा– कास्की जिल्लाभर कार्यक्षेत्र रहेको पोखराको मुनाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाले अध्यक्षमा दुर्गाप्रसाद हुमागाईंलाई निर्विरोध निर्बाचित गरेको छ।
साधारणसभाले उपाध्यक्षमा खेमनारायण खनाल, सचिवमा मगनलाल श्रेष्ठ र कोषाध्यक्षमा नारायणबहादुर थापालाई चयन गरेको छ। समितिको सदस्यहरूमा रमेश पौडेल, मुक्तिनाथ अधिकारी, सुदर्शन न्हुच्छे प्रधान, सुधा थापा, तिलकबहादुर प्रधान, डा विष्णुप्रसाद चापागाईं र डिलकुमारी पौडेल निर्वाचित भएका छन्।
यसैगरी, लेखा समिति संयोजकमा सुशन पौडेल तथा सदस्यमा डिलाराम लामिछाने र डा भवानीशंकर पौडेल छानिएका छन्। निर्वाचित पदाधिकारीलाई निर्वाचन कमिटि संयोजक मिलन ढकालले पद तथा गोपनीयताको सपथ गराएको संस्थाका प्रबन्धक अमर थापाले बताए।
साधारणसभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले अब सहकारीले देशकै बारेमा सोच्ने बेला आएको र समग्र मुलुकको वित्तीय सुधारमा सहकारी लाग्नुपर्ने कुरामा जोड दिइन्।
कार्यक्रमका विशेष अतिथि नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक भीम गुरूङले कुनै पनि सहकारी पुँजीको हिसाबले ठूलो सानो नहुने तर सहकारीको कारोबार, वित्तीय स्थिति, समग्र सहकारीको व्यवस्थापनले ठूलो र सानो हुने बताए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारले सहकारीलाई तेस्रो खम्बाका रुपमा राखेको हुनाले समग्र मुलुकको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।