चितवन- साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जभित्र ३ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुर्याएको छ।
आसपासमा रहेका विभिन्न खोलामा आएको बाढी पसेर निकुञ्जभित्रका विभिन्न स्थानमा भौतिक क्षति पुगेको हो। माडीका बगई लगायत विभिन्न खहरे खोला, रिउ खोला र राप्ती खोलामा आएको बाढीले सुरक्षा पोस्ट भत्काएको, कार्यालयमा क्षति पुर्याबएको, अन्य भौतिक संरचनामा समेत नोक्सानी गरेको निकुञ्जले जनाएको छ।
निकुञ्जका ४३ सुरक्षा पोस्टमध्ये क्षति पुगेका १० पोस्टलाई अन्यत्र गाभेपछि अहिले ३३ पोस्ट मात्र रहेका छन्।
‘निकुञ्जमा बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने काम भइराखेको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल भन्छन्, ‘प्रारम्भिक तथ्यांकमा अहिलेसम्म ३ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको पाइएको छ।’
माडी नगरपालिका भएर बग्ने बगई खोलाको बाढीले निकुञ्जको बगई पोस्टमा ठूलो क्षति पुर्याए पनि अस्थायी पोस्ट निर्माण गरेर त्यहाँ सवारी साधनको इन्ट्री दर्ता गर्ने काम भइरहेको छ। पोस्टमा कार्यरत सैनिकका अनुसार, साउन २८ गते शनिबार राति पोस्टमा बाढी पसेको थियो।
ड्युटीमा रहेका सैनिकले बाढी पसेको खबर गरेपछि पोस्टमा रहेका सबैले रातभर रुखमा बसेर ज्यान जोगाएका थिए।
यसपालिको बाढीले निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा अर्ना र बाह्रसिंगा राखिएको इन्क्लोजर चुरे पहाडबाट आएको बाढीले भत्काएको छ। ‘बारेको तारजाली भत्काएर नोक्सान पारेको थियो, अहिले मर्मत गरेर सुरक्षित बनाएका छौँ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेल भन्छन्, ‘त्यहाँ रहेका अर्ना सबै ठिक अवस्थामा छन्। चार वटा बाह्रसिंगामध्ये एउटा मात्र फेला परेको छ। तीन वटा बाढीमा परेर हराएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।