पोखरा– पोखरामा ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १० औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ।
पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकूदमा योगदान पु¥याएका व्यक्ति आबद्ध संस्था बगर भाइ खलक पोखराले यस वर्ष पनि यही फागुन २४ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागेकाे हाे।
पोखराको पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका महासचिव यामबहादुर गुरुङले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, हेटौँडा, चितवन, वालिङ, बुटवलबाट गरी २८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
यसअघिका संस्करणमा भारतलगायत विदेशी मुलुकका टोलीले प्रतियोगितामा सहभागिता जनाउने गरे पनि यसपटक कोभिड–१९ का कारण विदेशी टोली छैनन्।
चालीस वर्षदेखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य आयोजकले राखेको छ।
प्रतियोगिताको उपाधि विजेताले टोलीले रनिङ शिल्डसहित नगद रु एक लाख ११ हजार १११ र द्वितीय हुने टोलीले रु ५५ हजार ५५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।