काठमाडौं– नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ।
_x000D_
_x000D_
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि सम्झौताको नवीकरण भएको हो। दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज ४ गतेसम्म थियो। प्रत्येक दुई÷दुई वर्षमा समझदारी नवीकरण हुँदै आएको छ।
_x000D_
_x000D_
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले आगामी दुई वर्षका लागि इपिएस प्रणालीमार्फत नेपाली कामदार कोरिया लैजाने सम्झौता नवीकरण भएको जानकारी दिए। दक्षिण कोरियाबाट आएको नवीकरणसम्बन्धी समझदारी पत्रमा नेपालका श्रममन्त्री विष्टले हस्ताक्षर गरेका हुन्। त्यसअघि उक्त नवीकरणसम्बन्धी समझदारीपत्र हालैको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो।
_x000D_
_x000D_
नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार सन् २००८ देखि इपिएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन्। सो प्रणालीमार्फत अहिलेसम्म ५४ हजार ३ सय ६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन्। जसमा महिला ३ हजार ३ सय ३८ र पुरुष ५१ हजार २५ जना छन्।
_x000D_
_x000D_
हाल दक्षिण कोरियामा करीब ३५ हजार नेपाली कामदार कार्यरत रहेको शाखाले जनाएको छ। सन् २०१८ को भाषा परीक्षाबाट ७ हजार ९ सय ९८ कामदार कोरिया जाँदैछन्। इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ। खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ। अहिले नेपाली कामदारले मासिक १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म पारिश्रमिक पाउँदै आएका छन्।
_x000D_
_x000D_
सुरक्षित गन्तव्य, कामको सुनिश्चितता, कामदार र रोजगारदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता (चार वर्ष १० महिना), पुनः कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुञ्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको संख्या बढ्दै गएको इपिएस कोरिया शाखाले जनाएको छ।
_x000D_
_x000D_
हाल नेपाललगायत १६ मुलुकबाट वार्षिक करिब ५० हजार कामदार इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।