भैरहवा- भैरहवामा रहेको सिद्धार्थ नमुना अटो भिलेज ६ वर्षपछि सञ्चालनमा आउने भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ गोनहियास्थित उक्त भिलेज सञ्चालनमा आउने भएको हो। नगरपालिकाले सञ्चालनमा ल्याउन खोजे पनि उसकै कारण वर्षौंदेखि अलपत्र परेको थियो।
सफा र सुन्दर नगर बनाउने अवधारणा अन्तर्गत नगर क्षेत्रमा यत्रतत्र छरिएका ग्यारेजलाई एक स्थानमा ल्याई सञ्चालन गर्न नगरपालिकाले ग्यारेज श्रमिक/व्यवसायीहरुसगँ भिलेज स्थापनाका लागि २०७० सालमा सम्झौता गरेको थियो। नगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगर्दा भिलेज अलपत्र परेको थियो। भिलेज सञ्चालनका लागि विद्युत ट्रान्सफर्मरको मात्र अभाव थियो। जुन नगरपालिकाले जडान गर्न चाहेको थिएन। वर्षौंदेखि अलपत्र हेको भिलेजको विषयमा नेपाल लाइभले पटकपटक समाचार प्रकाशित गरेको थियो।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले वर्षौंसम्म दौडधूप गरेपछि नगरपालिकाको बेवास्ताका बावजुद केही दिनभित्र भिलेज सञ्चालनमा आउने बताए। ‘हाम्रो समस्या संघीय सांसद घनश्याम भुसाल र विद्युत प्राधिकरणले समाधान गरिदियो,’ उनले भने, ‘ट्रान्सर्फमर जडान भएपछि श्रमिकहरु उत्साहित भएका छन्।’
५ सय केभिए क्षमताको ट्रान्सर्फमर आवश्यक रहे पनि तत्काल भिलेज सञ्चालनका लागि एक सय केभिए क्षमता ट्रान्सर्फमर जडान भएको छ।
अटो भिलेजका लागि श्रमिकहरुले जग्गा खरिद गरेर सडक, खानेपानी, विद्युत लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौतामा उल्लेख छ। तर, जडान भएको ट्रान्सर्फमरका लागि नगरपालिकाको कुनै सहयोग नगरेको मगरले बताए।
करिब ३ सय श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा ग्यारेज सञ्चालनका लागि १० बिघा जग्गा खरिद गरेका थिए। नगरपालिकासँग भएको सम्झौता अनुसार श्रमिकहरुले बैंकबाट ऋण लिएर आ-आफ्नो जग्गा खरिद गरी भवन बनाएका थिए।
समयमा भिलेज सञ्चालनमा नआउँदा ६ वर्षसम्म बैंकको ब्याज बुझाउन निकै कठिनाइ भएको र केही भिलेजबाट नै विस्थापित भएको व्यवसायीहरुको गुनासो छ।
ट्रान्सर्फमर जडान भएपछि आफूहरु विद्युत मिटर प्रक्रियाका लागि अघि बढेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका उपाध्यक्ष दिलबहादुर कुवँरले बताए।
अटो भिलेज सञ्चालनमा ल्याउन खोजेको नगरपालिकाले आफ्नै सम्झौता कार्यान्वयन नगरी उल्टै त्यसविपरीत ठूला व्यवसायीलाई लुम्बिनी रोडमा ‘मिनी’ अटो भिलेज सञ्चालन गर्न छुट दिएको छ। सम्झौताको बुँदा नम्बर ४ मा अटोमेकानिक्स सम्बन्धी व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीलाई सिद्धार्थ अटो भिलेजबाहेक अन्यत्र व्यवसाय गर्न नपाउने गरी दुवै पक्ष (नगरपालिकाका र व्यवसायी) ले आवश्यक पहल गर्ने उल्लेख रहे पनि नियमक निकाय नगरपालिकाले आफ्नै सम्झौताको उल्लंघन गरेको साना व्यवसायीको आरोप छ।
विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख उमेश झा दैनिक काम गरेर आफ्नो गुजारा चलाउने श्रमिकहरु ट्रान्सर्फमरका कारण मात्र समस्यामा परेकाले ट्रान्सर्फमर जडान गरिएको बताउँछन्। ‘यसले एकातिर श्रमिकहरुको एकातर्फ समस्या समाधान भयो भने अर्कोतर्फ प्राधिकरणलाई राजस्वसमेत वृद्धि हुने भएको छ।’
सम्बन्धित समाचार :
भैरहवामा अटो भिलेज सञ्चालनमा आएन, ऋणको बोझमा व्यवसायी
बिग्रिँदै नगरको वातावरण : अव्यवस्थित ग्यारेजले लुम्बिनी मार्ग कुरुप
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।