महात्मा गान्धीको जन्म सन् १८६९ मा (गुजरात) काठियावाड जिल्लाको समुद्री तट पोरबंदर नामक सहरमा भएको थियो। पोरबंदरको पुरानो नाम सुदामपुरी थियो। बाल्यकालमा गान्धी अलि डरपोक र लजालु स्वभावका थिए। तर, समय बित्दै जाँदा आत्माको आवाज पछ्याएर असल कर्म गरे र त्यसमा उनलाई सफलता मिल्यो। भारतका राष्ट्रपिता, अहिंसाका पुजारी तथा शान्ति युगका प्रवर्तक बने।
सन् २०२२ को सुरुमा मेरो भारत भ्रमणले मलाई इतिहासमा महात्मा गान्धीजत्तिकै संयुक्त राष्ट्र संघको लक्ष्य र मूल्यमान्यतासँग जोडिएका थोरै व्यक्तिहरू छन् भनी सम्झायो, संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेस। संयुक्त राष्ट्र संघमा महात्मा गान्धीको प्रतिमा स्थापनाको अवसरमा सामेल हुन पाउँदा धेरै खुसी लागेको छ। उनै गान्धीको मृत्यु (हत्या) ३० जनवरी १९४८ मा भारत मै भएको थियो।
‘मलाई आशा छ, यहाँ संयुक्त राष्ट्र संघको मुख्यालयमा यसको स्थापनाले हामीलाई गान्धीले अपनाउनु भएको मूल्य र मान्यतामा प्रतिबद्ध छौं भनेर, सम्झाउनेछ। आधुनिक युगको एक दिग्गजलाई श्रद्धाञ्जली अर्पण गर्न पाएकोमा म धन्य भएको छु’, त्यसबखत गुटरेसले भनेका थिए। सन् २००७ देखि गान्धी जयन्ती अक्टुबर २ लाई संयुक्त राष्ट्रसंघले विश्व अहिंसा दिवसका रूपमा मनाउन सुरू गरेको छ। गान्धी शान्तिपूर्ण सहअस्तित्व, गैर-भेद्भाव र बहुलवादका कट्टर समर्थक थिए। गान्धीको साम्राज्यवाद विरोधी दृष्टिकोण संयुक्त राष्ट्र संघको लागि आधारभूत बडापत्र थियो। बडापत्रमा भनिएको छ, हाम्रो संगठन "जनताको समान अधिकार र आत्मनिर्णय" को सिद्धान्त निर्माण गरिएको छ।
गुटरेसले भने, ‘वास्तवमा, बडापत्रका मस्यौदाकर्ताहरूले गान्धीको शान्ति, अहिंसा र सहिष्णुताको सन्देशबाट धेरै प्रेरणा लिएका थिए।’ अहिंसाका सिद्धान्तहरू पछ्याउँदै, औपनिवेशिक विरोधी प्रतिरोधका लागि लाखौं मानिसहरूलाई संगठित गर्ने गान्धीको सफलताले संसारभरका मानिसहरूलाई साँच्चै प्रेरित गर्यो। गान्धी ऐतिहासिक व्यक्तित्व मात्र होइनन्। उनका दूरदर्शी विचार र मूल्यमान्यताहरू, न्याय र सामाजिक परिवर्तनका लागि उनको चासो आज पनि विश्व मानषपटलमा गुन्जिरहेको छ।
उनका धेरै विचारले दिगो विकासको अवधारणालाई प्रतिबिम्बित गर्दछन्। "गरिबी हिंसाको सबैभन्दा खराब रूप हो" भन्ने उनको दृष्टिकोण छ।
सबैभन्दा कमजोरलाई उत्थान गर्ने उनीहरूको रेकर्डमा समाजलाई न्याय गर्नुपर्छ, भन्ने उनको विश्वासले आज विश्वका नेताहरूको लागि महत्त्वपूर्ण अर्थ राख्छ। त्यसैगरी २०२३ को सेप्टेम्बर (९ र १०) मा भारतमा सपन्न भएको जी २० को बैठकमा सहभागी विश्वका नेताले उनको समाधीस्थलमा राजघाट पुगेर गान्धीको आर्दश र मूल्यमान्यता आज पनि जीवन्त रहेको स्वीकार गरेका थिए।
उनले "अछूत" मानिने मानिसहरूलाई "हरिजन" वा "भगवानका सन्तान" भनेर नामाकरण गरे र जातीय भेदभावविरुद्धको अभियानलाई औपनिवेशिकता विरुद्धको सङ्घर्ष जत्तिकै महत्त्वपूर्ण ठाने। पृथ्वी, हावा, जमिन र पानी हाम्रा पुर्खाहरूबाट विरासतमा नभई हाम्रा सन्तानहरूबाट लिइएका हुन् भनी विश्वास गर्दै हाम्रो वातावरणको लूट र विनाशका खतराहरू पहिचान गर्ने पहिलो व्यक्ति गान्धी थिए। उनी दिगो स्थानीय उत्पादनहरू जस्तै खादी-स्वदेशीका समर्थक थिए।
उनले राजनीतिमा महिलाहरूलाई समर्थन र सबै प्रकारका भेदभावपूर्ण अभ्यासहरूलाई अस्वीकार गरे। विविधता भारतको सबैभन्दा ठूलो सम्पत्ति हो भनी स्वीकार गर्दै, उनले धर्म, संस्कृति र समुदायहरूबीच सामंजस्यपूर्ण सम्बन्धको लागि प्रयास गरे। उनको जीवनको केन्द्रबिन्दु शान्तिको संस्कृति निर्माण गर्दै अहिंसात्मक प्रतिरोधको माध्यमबाट सामाजिक र राजनीतिक सुधारमा जोड दिनु थियो। ‘समानता, एकता र सशक्तिकरणको लागि विश्वभर संयुक्त राष्ट्र संघको दैनिक कार्यमा समेत उनको विरासत जताततै छ’, महासचिव गुटरेसले भनेका छन्।
महात्मा गान्धीलाई सत्य र अहिंसाको अतुलनीय महत्वमा विश्वास थियो। अंग्रेज साम्राज्यसमेत पराजित हुन पुग्यो। आफ्नो विश्वासको बलमा उनले अहिंसात्मक आन्दोलन सुरु गरे जसले विश्वको सबैभन्दा शक्तिशाली साम्राज्यलाई भारतबाट हटाउन सफल भए। यो सबै उनको दृढ संकल्पको परिणाम थियो।
घर, परिवार र वरपरको सभ्य वातावरणमा हुर्किएका, गान्धीको आत्मविश्वास बढ्दै गयो। उनी शारीरिक रूपमा त्यति बलियो नभए पनि कालान्तरमा उनको आत्मविश्वास त्यति बलियो भयो कि ठूला-ठूला दिग्गजहरू पनि उनको अगाडि टिक्न सकेनन्। गान्धीजी एक महान योद्धा र एक महान योगी पनि थिए। उनमा ज्ञान-वैराग्य शक्ति, भक्ति र कर्म शक्तिको अद्भभुत संयोजन थियो।
त्यसैले उनलाई योगी अर्थात् यी सबै शक्तिहरूको महासंगमका महायोगी भन्न सकिन्छ। उनको महान कार्यलाई ध्यानमा राखेर समाजले उनलाई पछि महात्माको उपाधि दियो। उनलार्इ महात्मा उपाधि दिने पहिला व्यक्ती रविन्द्रनाथ टैंगोर थिए। तर महात्मा बन्नुअघि उनी महायोगको मार्गमा लागेर हरेक पटक परीक्षामा उत्तीर्ण भएका थिए।
महात्मा गान्धीले "बहुजन हिताय बहुजन सुखाय" को भावनालाई गहिरो रूपमा जगाएका थिए। शास्त्रले भन्छ, "परोपकारै शैतान विभूते" अर्थात् महान व्यक्तित्वहरू परोपकारका लागि मात्र जन्मेका हुन्छन्। विदेशमा अध्ययन गरेपछि गान्धीजीले तत्कालीन भारतीय समाजमा दक्षिण अफ्रिका र भारतबीच रहेको असमानता र विभेद् हटाउन सत्याग्रहको सहारा लिए।
महामानवले सबै मानवजातिको समानता देख्न चाहेको बेलामात्र यस्तो गर्न सक्छन्। यस्तो समानुपातिक महापुरुषलाई बहुआयामी तथा महान् योगी भन्नु उपयुक्त हुन्छ। महात्मा गान्धीलार्इ बापु भनिन्थ्यो। उनले जीवनभर सत्यको मार्ग अनुसरण गरे र आफ्नो आदर्शको रूपमा "विचार, वाणी र कार्य" (कथनी र करनी) मा एक रूपमा अपनाए। गान्धीजी एक स्थितप्रज्ञा योगी थिए। उनले यी सबै गुणहरू गीताबाट आत्मसात् गरेका थिए।
अन्यायविरुद्ध अहिंसात्मक तरिकाबाट निरन्तर लडिरहे। उनको आन्दोलनले अन्ततः शान्तिपूर्ण तरिकाले सफलता हासिल गर्यो। गान्धीजीमा ती सबै गुणहरू थिए जुन योगीमा झल्किन्छन्। जसरी योगी बन्नको लागि निर्भयताको मनोवृत्ति हुनु आवश्यक छ, त्यसरी नै उनी प्रत्येक अवस्थामा स्पष्ट रूपमा उपस्थित हुन्थे। यसबाहेक, "योग: कर्मसु कौशलम्" को अनुकरणीय लक्षणका साधनारत रहे।
चर्खा चलाउने होस् वा मर्मतसम्भार गर्ने होस् वा धागो कात्ने होस् वा गार्इ (गौशाला) पाल्ने काम होस् वा अन्य कुनै पनि काम कुशलतापूर्वक गरेका हुन्थे। उनी आवश्यक सरसफाईको पनि कडा समर्थक थिए। नित्य शौचालय सफाइ स्वयँम आफैं गर्थे। शुद्धताको (ब्रह्मचार्य) खातिर, उनले पत्नी कस्तुरबा गान्धीसँग समेत दूरी कायम गरेका थिए।
महात्मा गान्धी आफ्नो आत्मशुद्धिको लागि हप्तामा एक दिन मौन व्रत गर्थे। प्रत्येक सामबार उनी मौन बस्थे। उनी नित्य ध्यानसमेत गर्थे। उनी एक प्रबल इच्छाशक्तिका महायोगी थिए। समाजमा विद्यमान छुवाछूत, जातिवाद, बालविवाह, अशिक्षा, महिला अधिकार आदि जस्ता धेरै सामाजिक विकृति र विसंगतिहरूलाई सुधारका लागि अभियान नै चलाउथे। वैष्णव भजन उनलार्इ मन पर्ने भजन हो।
भजन र गान्धीजी को वैश्विक दृष्टिकोण- योगीको विशेष विशेषता भनेको उनमा चुम्बकीय आकर्षण स्वतः आउँछ। जसको आचरण र क्रियाकलापले मानसिक सम्बन्ध स्वतः स्थापना गर्छ। उनीसँग अमेरिकी अश्वेत नेता मार्टिन लुथर किङ जुनियर पनि प्रभावित थिए। गान्धीजीको बारेमा सुनेपछि उनी १९५९ मा भारत आएर सावरमती गएका थिए। साथै गान्धीजीबाट प्रेरणा लिएर अमेरिकामा अश्वेत विरूद्ध आन्दोलन सुरु गरे।
त्यसैगरी विश्वका धेरै नेताहरूले महात्मा गान्धीबाट प्रेरणा लिएका छन्। गान्धीजी सबैका बापूजी थिए। महात्माका अनुयायी भारतरत्न नेल्सन मण्डेलाले पनि थिए। उनी दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध सफलतापूर्वक लडेका थिए।
गान्धीजीका प्रशंसक र अनुयायीहरूको सूची धेरै लामो छ। गान्धीवादीहरूले कसरी शान्ति र अहिंसाको दियो बालिरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ। नेपालमा पनि उनका अनुयायी नभएका हैनन्। तुलसी मेहर, बीपी, किसुनजी, गणेशमान, महेन्द्र नारायण निधि, रामहरि जोशी आदी। त्यसैले उनका अनुयायी अहिंसा र शान्तिका प्रवर्तक गान्धीजीको आदर्श अपनाउन चाहन्छन्। यस शृङ्खलामा अमेरिकी राजनीतिशास्त्री र शान्तिवादी डा जीन्स शार्पको नामसमेत उल्लेखनीय छ। उनी लेखक हुन्। एक पटक उनले प्यालेस्टिनी नेता यासिर अराफातलाई भेटे र कम्मरमा रिभल्भर बोक्न छोड्न मैत्रीपूर्ण सल्लाह दिए।
प्यालेस्टाइनको मुक्तिको आन्दोलन हिंसाको बाटो त्यागेर शान्तिपूर्ण माध्यमबाट सम्भव छ,भनी सुझाए। वर्तमानमा पनि प्यालेस्टाइन र इजरालबीच हिंसात्मक द्वन्द्व छ। गान्धी कै मार्गबाट अन्त्य संभव छ। त्यो भनेको क्षमा र प्रायिश्चतको मार्ग।
योग भनेको जोड्नु हो। योगले कसरी मानिससँग जोड्छ भन्ने कुरा गान्धीजीबाट सिक्न सकिन्छ। यस सन्दर्भमा एउटा उदाहरण दिन सकिन्छ,जब पास्टर सीएफ एन्ड्रयूज (चार्ली) भारत आएपछि उनको उद्देश्य इसाई धर्म फैलाउने थियो, तर जब उनले गान्धीजीको गतिविधि र विचारधारालाई देखे।
चार्लीले गान्धीजीको खुट्टा छोए, तब विदेशमा कोलाहल मच्चियो। भारतीयको खुट्टा छुनु गोरा जातिको अपमान हो, भन्ने समाचार विश्वमा संचारित हुन पुग्यो। त्यसको जवाफमा गान्धीका प्रिय चार्लीको कथन थियो, महात्मा (मोहनदास करमचन्द गान्धी) एक नैतिक प्रतिभा र एक प्रभावशाली आध्यात्मिक व्यक्तित्वको साथ एक उत्कृष्ट ईसाई पनि थिए। धर्मप्रति गान्धीजीको सर्वधर्म समभाव भन्ने नीति थियो।
गान्धीको अर्थमा हिन्दू धर्म आजको साम्प्रदायिक र संकीर्ण हिन्दू धर्म थिएन। कट्टरता र राजनीतिक विभेद् भएको धर्म थिएन। यो भौगोलिक क्षेत्रमा बसोबास गर्ने सभ्यता र लोक समाजलाई अभिव्यक्त गर्ने बृहत् सामुदायिक संस्कृति थियो। हिन्दू धर्ममा भिन्नताका बाबजुद पनि केही साझा तत्वहरू थिए जसले सबैलाई एकसाथ बाँध्न सक्दछ।
गान्धीले संसारभरका अन्य सबै धर्महरूको भलाइलाई समावेश गरेर अझ व्यापक बनाउने प्रयास गरेका थिए। २२ अप्रिल, १९३८ मा एक अखबारहरूलाई दिएको बयानमा उनले भनेका थिए- ‘मेरो हिन्दुत्व कुनै सम्प्रदायमा सीमित छैन। इस्लाम, क्रिस्चियन, बौद्ध, यहुदी धर्मका सबै राम्रा कुराहरू यसमा समावेश छन्।’
यथार्थमा त्यो व्यक्ति मात्र योगी भन्न (बन्न) योग्य हुन्छ जसले सबैलाई सबै ठाउँमा समान व्यवहार गर्छ। चार्लीको आकर्षणमा गान्धीजीमा त्यो गुण प्रमुख थियो। त्यसैले क्रिस्चियन, मुस्लिम (खान अब्दुल गफ्फार), पारसी, बौद्ध, सिख र यहूदी आदिले उनलाई आफ्नो समान ठान्थे। विश्वले हरेक वर्ष अक्टोबर २ गान्धीमा समर्पित अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउने गर्दछ। संयुक्त राष्ट्र संघले १५ जुन २००७ मा १ सय ४० देशहरूको समर्थनमा त्यसलाई अनुमोदन गर्यो। सहकार्यले सम्पूर्ण विश्व शान्तिपूर्ण र स्वस्थ जीवन चाहन्छ भन्ने संकेत गर्छ। वसुधैव कुटुम्बकमको आत्माको पूर्ण व्यावहारिक दर्शन नै गान्धी दर्शन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।