भैरहवा- भारतले नेपालमा रेल गुडाउनका लागि परीक्षण गरेलगत्तै चिनियाँ रेल वे सम्बन्धी एक समूहले नेपालमा चिनियाँ रेल गुडाउनबारे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग भेट तथा छलफल गरेको छ।
भारतले जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेल मार्गको पहिलो परीक्षण गरेको दुई दिनपछि चाइना रेल वे इन्टरनेसनल ग्रुपको एक टोलीले मुख्यमन्त्री पोखरेलसँग शुक्रबार भेट तथा छलफल गरेको हो।
भारतले जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म ८ दशमलव ५ किलोमिटर दुरीमा बुधबार रेलको परीक्षण सञ्चालन गरेको थियो।
मुख्मन्त्रीसँग भेटघाट गरेको चिनियाँ टोलीले रामग्राम—लुम्बिनी—कपिलवस्तु बुद्धसर्किटमा मोनोरेल गुडाउनका लागि सम्भाव्यता अध्ययनबारे छलफल गरेको मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।
भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताएका थिए। उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले सम्भाव्यता अध्ययन, डिपीआर र निर्माणबारे छलफल गरी अघि बढ्न सकिने बताए। साथै उनले मोनोरेलको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरे।
चिनियाँ टोलीले मोनोरेलको सम्भावनाबारे प्रस्तुति गरेको थियो। मुख्यमन्त्रीसँगको भेटमा चाइना रेलवे इन्टरनेसनल ग्रुप अन्तर्गतको चाइना ओभरसिज ग्रुपका नेपाल शाखा महाप्रबन्धक वाङ्ग यु श्वे, चाइना रेलवे इन्टरनेसनल ग्रुपका अर्थशास्त्री याङ्ग क्वाङ्ग सहितको टोली सहभागी थियो।
नेपाल शाखा महाप्रबन्धक वाङ्ग यु श्वेले बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययन, डिपिआर र निर्माणको बारेमा प्रदेश सरकारसँग छलफल गर्दै अघि बढेर निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएका छन्।
सो छलफलमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तीर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल र मन्त्रालयका सचिवहरु समेत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।