भैरहवा- लुम्बिनीमा अब विद्युतीय सवारीसाधन गुड्ने भएका छन्। लुम्बिनी क्षेत्रमा प्रदूषणरहित सवारीसाधन सञ्चालन गर्ने लुम्बिनी विकास कोषको योजना अनुसार एसियाली विकास बैंक (एडिबी) को सहयोगमा भारतमा निर्मित विद्युत सवारी साधन लुम्बिनीमा गुड्ने भएका हुन्।
ती सवारी लुम्बिनीका लागि लोड भएको र असारको पहिलो साता आइपुग्ने लुम्बिनी विकास कोषका योजना प्रमुख एवं निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए। उनका अनुसार आउन लागेको सवारी साधनहरुमध्ये ११ वटा कार र ७ वटा बस रहेका छन्। सबै सवारीसाधनहरु एसी जडित हुन्।
लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि एडिबीले भैरहवादेखि लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि उक्त विद्युतिय सवारीसाधन प्रदान गर्न लागेको उनले बताए। भट्टराईका अनुसार निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनीसहित अन्य बुद्ध जीवनीमा आधारित क्षेत्रहरू कपिलवस्तु, देवदह, रामग्राम लगायतका स्थानमा उक्त सवारीसाधन सञ्चालन हुनेछ।
'भैरहवा विमानस्थलदेखि लुम्बिनी क्षेत्रमा प्रदूषणरहित विद्युतीय सवारी सञ्चालन गर्ने लक्ष्य रहे पनि हाललाई विमानस्थलको काम सम्पन्न नभएकाले बुद्धसर्किटमा उक्त सवारी सञ्चालन गर्छौं,' उनले भने, 'विमानस्थल निर्माण सकिएपछि त्यहाँसम्मका लागि पनि सिधै बस सेवा थप्ने तयारी छ।'
उनले एडिबीले कोषलाई हस्तान्तरण गर्ने उक्त विद्युतिय सवारीसाधन निजी क्षेत्रलाई सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको र भाडादर समेत हाल रहेको दरअनुसार नै हुने गरी छलफल भइरहेको बताए। उनका अनुसार कुल २८ करोडको लागतमा लुम्बिनी ‘क्लिन पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट’ नाममा उक्त योजना अनुसार विद्युतिय सवारी आउन लागेका हुन्।
स्थानीय बासिन्दा र पर्यटक लक्षित सञ्चालनमा आउने यी सवारीसाधन सबै सौर्य ऊर्जामार्फत चल्नेछन्।
विद्युतिय सवारीसाधनका लागि लुम्बिनीमा सोलार चार्जर स्टेशन निर्माण गरिने र त्यसको लागि टेन्डरसमेत आह्वान भइसकेको उनले जानकारी दिए।
सोलार चार्जर स्टेसन निर्माण गर्न केही समय लाग्ने हुँदा नयाँ वर्ष २०१९ को जनवरीदेखि ती सवारी सञ्चालनमा ल्याउने लक्ष्य रहेको योजना प्रमुख भट्टराईले बताए।
सवारी साधनहरुलाई अन्तर्राष्ट्रिय वातावरण दिवसका दिन (मंगलबार) भारतका ठूला उद्योग तथा सार्वजनिक यातायातमन्त्री अनन्त गितेले एक कार्यक्रमका बीच नेपाल पठाउनका लागि हरियो झन्डा देखाएका छन्। भारतीय अटो कम्पनी गोल्डेन स्टोन इन्फ्राटेक प्रालिले विद्युतीय सवारीहरु पहिलो पटक भारतमा निर्माण गरेको हो। नेपालपछि भारतमै यो सवारीको सार्वजनिकीकरण हुनेछ भने त्यसपछि दक्षिण एसियाका विभिन्न मुलुकमा सवारी निर्यात गर्ने भारतीय सञ्चारमाध्यम एएनआईले आफनो अनलाइन संस्करणमा जनाएको छ।
गोल्डेन इन्फ्राटेकले विद्युतीय सवारी साधन निर्माण गर्ने विश्वकै सबैभन्दा ठूलो अटो कम्पनी बिवाइडी अटो इन्डस्ट्रिज प्रालिसँगको सहकार्यमा भारतमा पहिलो पटक विद्युतिय सवारी निर्माण गरी पहिलो उत्पादनका गाडी नेपाल पठाएको हो। शून्य प्रदूषण मापदण्डका विद्युतीय सवारीसाधन ‘ई–बज के सिक्स’ मोडलका रहेका छन्। १८ सिट क्षमताका रहेको बस यात्रुहरुलाई आरामदायी यात्राका लागि उपयोगी हुने गोल्डेन इन्फ्राका कार्यकारी निर्देशक नागा सत्यमले बताए।
यात्रुहरुलाई प्रदूषणमुक्त सवारीसाधनमा सहज र आरामदायी तरिकाले यात्रा गराउन सहयोग पुगोस् भन्दै आफूहरुले सहकार्य गरी भारतमा निर्माण गरिएको बिवाइडीका कार्यकारी निर्देशक झियांग जिले बताएको एएनआइको समाचारमा उल्लेख छ। जिले यो गाडीको बजार दक्षिण एसियाली मुलुक भएको र पहिलो निर्यात नेपालबाट सुरु गरिएको बताएका छन्। आफूहरुले वातावरणमैत्री सवारी निर्माण मात्र नगरेको नभई यसले विश्वमै समस्याका रुपमा देखिएको कार्बन उत्सर्जन घटाउन ठुलो सहयोग पुग्ने उनको भनाइ छ।
प्रतिघन्टा ८० किमि गति रहेको विद्युतिय बस एक पटक चार्ज गरेपछि २ सय किलोमिटर सम्म गुड्न सक्छ। ३ चरणमा गरी ३ देखि ४ घन्टाभित्र सबै ब्याट्री चाँडै चार्ज गर्न सकिन्छ। एअर सस्पेन्सर जडित सवारी साधनमा एअर डिस्क ब्रेकसमेत रहेकोले अन्यभन्दा सुरक्षित, भरपर्दो र आरामादायी रहेको कम्पनीले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।