काठमाडौं- केही समययता कृष्ण प्रसाद सिटौला नेतृत्वमा रहेको नेपाली कांग्रेसको तेस्रो धारको चर्चा अलि सेलाएको छ। तर यो समूहले आफ्नो क्रियाशिलतामा कमी नआएको देखाउन लागीपरेको छ यतिबेला। आफ्नो समूहको भूमिका झन् बढेको जनाउँदै बेग्लै कार्यक्रममा आयोजना गर्ने तयारी गरेको छ। पार्टीभित्र वैचारिक समूहका रुपमा परिचित तेश्रो धारले आफू नजिकका नेता/कार्यकर्तालाई एकै थलोमा उतार्न लागेको हो।
जिपी कोइराला अध्ययन केन्द्रले सोमबार आयोजना गर्ने विचार गोष्ठीमा तेश्रो धारका नेतालाई मात्रै सम्बोधनका लागि निमन्त्रणा गरिएको छ। गत वर्षमा सबै दलका नेता बोलाएर विचार मन्थन गर्दै आएको अध्ययन केन्द्रले यसपटक तेश्रो धारका नेतालाई मात्रै निम्त्याएको हो। ‘देशको राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भुमिका’ विषयक विचार गोष्ठीमा तेश्रो धारको मियो केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला प्रमुख अतिथि हुनेछन्।
सिटौला समूहका नेतालाई मात्रै वक्ताका रुपमा बोलाइएको उक्त विचार गोष्ठिमा सिटौलाका दुई सारथी केन्द्रीय सदस्यद्वय गगन थापा र प्रदीप पौडेल सम्बोधन गर्नेछन्। सिटौला नजिकका केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिवप्रसाद हुमागाई पनि कार्यक्रममा बक्ता छनोट गरिएको छ।
८ वर्ष अघिदेखि वार्षिक कार्यक्रम गर्दै आएको अध्ययन केन्द्रको अध्यक्षमा सिटौला निकटका विद्यार्थी नेता रामप्रसाद अधिकारी छन् भने महासचिव निरञ्जन थापा छन्। संस्थाका अध्यक्ष अधिकारीले अन्य दलका नेतालाई बोलाएर पुनः अर्को कार्यक्रम गर्ने जानकारी दिँदै सोमबारको कार्यक्रम तेश्रो धार विषेश भएको बताए।
संख्यात्मक रुपमा पार्टीका संगठनमा कमजोर रहेको उक्त समूहले वैचारिक रूपमा अन्य समूहभन्दा अघि रहेको दाबी गर्दै आएको छ। ‘सिटौला समूहका नेताले कार्यकर्तालाई जागरुक बनाउन र समसामयिक विषयमा जानकारी गराउन कार्यक्रम राखिएको अधिकारीले बताए।
सोमबारको कार्यक्रमपछि उक्त समूहले देशव्यापी आफुपक्षिय कार्यकर्तालाई सक्रिय बनाउने जनाएको छ। युवा नेता प्रदीप पौडेलले सोमबारको विचार गोष्ठीबाट तेश्रो धारले पार्टी र सरकारका बारेमा पछिल्लो धारणा वाहिर ल्याउने बताए।
शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालासँग सिटौला तुलनात्मक रुपमा बढी नजिक थिए। अर्कातर्फ गणतन्त्रको नारा सडकमा लगाउने कार्यको अगुवाई केन्द्रीय सदस्य थापा र पौडेलले गरेका थिए। साथै, प्राध्यापक संघको अध्यक्ष रहेर भीमसेनदास प्रधानले तत्कालीन सभापति कोइरालालाई सहयोग पुर्याएका थिए।
कोइरालाका अधुरा कार्य सम्पन्न गर्नसक्ने नेताहरु सहभागी हुने कार्यक्रमलाई एकपक्षीय नेता मात्रै भएको उल्लेख गर्न नमिल्ने विद्यार्थी नेता कुन्दनराज काफ्लेको राय छ।
विचार गोष्ठी राष्ट्रिय नाचघर जमलमा सोमबार आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।