काठमाडौं- पेरुको कुस्को इलाकामा अपुरिम्याक नदीमा यस्तो एउटा पुल छ जसको हरेक वर्ष मर्मत गरिन्छ। घाँसबाट बन्ने यो पुल हरेक वर्ष नयाँ बनाइन्छ।
यसलाई 'इन्का रोपब्रिज' भन्ने गरिएको छ।
यसको नामाकरणको पनि रोचक प्रसंग छ। सबैभन्दा पहिला यसलाई इन्का साम्राज्यको समयमा निर्माण गरिएको विश्वास गरिन्छ।
उक्त अवधिदेखि हालसम्म सो इलाकामा घाँसको पुल हालिँदै आएको छ।
प्रत्येक वर्ष यसको मर्मतसमेत गर्ने परम्परा हालसम्म पनि कायम छ।
इन्का साम्राज्यका बेला प्रयोग भएको तरिका र प्रविधि प्रयोग गरेर आजसम्म उक्त इलाकामा पुल बनाइदै आएको छ।

मोटो डोरीको साहारामा हावामा झन्डाएर यस पुललाई हातले बुन्ने गरिन्छ। यसरी नै निर्माण गरिएको पुलमा ६०० वर्षदेखि मानिस आवतजावत समेत गर्दै आएका छन्।
इन्का पुलले इन्का साम्राज्य र कस्बोको सहर जोड्दछ।
युनेस्कोले यसलाई २०१३ मा विश्व धरोहरका रुपमा घोषणा गरेको थियो।
पुरानो पुलको स्थानमा नयाँ बनाउने परम्परा एकपछि अर्को पिँढीमा कुशलतापुर्वक हस्तान्तरण हुँदै आएकाले यो परम्परा आजसम्म पनि जीवित भएको हो।
नदीका दुवै क्षेत्रका युवा एकजुट भएर घाँसबाट डोरी बनाउने गर्दछन्। त्यसैलाई पुलको रुप दिने गरिन्छ।
परम्पराअनुसार पुल बनाउँदा नदीको माथि जान भने पुरुषले पाउँछन्। महिलाहरु चाहिँ नदीको दुई किनाराको उच्च स्थानमा बसेर सानासाना डोरी बाटेर सहयोग गर्दछन्।
हरेक वर्ष यो पुलको मर्मत गर्दा मेलाका रुपमा यहाँका दुबैतिरका समुदाय सहभागी हुने गरेका छन्।

कामको पहिलो दिन सबै पुरुषहरु पुलको छेउमा जम्मा हुन्छन्। उनीहरु सुरुमा छोटाछोटा डोरी बनाउँछन्।
यिनै छोटा डोरी जोडेर लामो बनाइन्छ। यसरी बन्ने डोरीको मोटाई एक फुट जति हुन्छ। पातला र साना १२० डोरीको जोडाईबाट बनाइन्छ।
यसका लागि स्थानीय मजबुत (बलियो)घाँस ‘कोया इचु’को प्रयोग गरिन्छ।

यो घाँसलाई पहिला ढुङ्गाले पिटेर पानीमा सुकाइन्छ।
जसकारण यो डोरी बन्न नरम र सहज हुने गर्दछ। यो समूहमा काम गर्नेलाई खान र खाजाको व्यवस्था समेत सामूहिक रुपमा नै गरिन्छ।
यसरी काममा लागेका मानिसका लागि 'लजीज' खानाको व्यवस्था गरिन्छ। जसमा चिकन, गिनि बिगलगायतका स्वादिला भोजन र नदीमा मारिएको ट्राउट माछाको व्यवस्था गरिन्छ।

नयाँ पुल बनाएपछि पुरानो पुलको डोरी काटेर नदीमा फालिन्छ।
यो कुहिएर जाने गर्दछ।
६ वटा ठुला डोरीमा ४ डोरीले पुलको फ्लोरका रुपमा काम गर्दछ। अन्य दुई डोरी हातको साहारका लागि प्रयोग गरिन्छ।

तेस्रो दिन यी मुख्य डोरीको पालतो डोरीले सघन बुनाई( कसिलो बुन्ने) काम हुन्छ। यो कामका लागि दक्ष ग्रामीण मानीश छानिन्छन जसलाई उचाईसँग डर नलाग्ने हुन्छ।

यसरी हातको साथ लिने डोरी र भुईको हिड्ने डोरीबीच एक आपसमा बलियो गठजोड गरिन्छ जसले गर्दा मानीसहरु सुरक्षित रुपमा त्यसमा यात्रा गर्न सकून्।
पुल बनाउने यो प्रक्रियाका कुनै पनि आधुनिक समान,उपकरण या मेसिनको प्रयोग गरिँदैन।

घाँस र मानिसको बलबाट यस्तो पुल बनाउन थालिएको ६ सय वर्ष भन्दा बढी भएको छ।
यो दुई गाउँका मानिस यसैगरी निर्माण भएको पुलमा एक वर्षसम्म यात्रा गर्छन्। एक वर्षपछि पुनः नयाँ बनाउँछन्।
केस्वाचाको पुल हरेक वर्ष यही प्रक्रिया अवम्लबन गरी चार दिनमा तयार गरिन्छ।
पुल निर्माण भएको अन्तिम दिन अर्थात् चौथो दिन खाना र गीतसंगीत सहितको उत्सव मनाइन्छ।
यो प्रायजसो जुन महिनाको दोस्रो आइतबार पर्ने गर्दछ।


(बिबिसी हिन्दीमा प्रकाशित सामग्री नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।