बुटवल- बुटवलमा दिनानुदिन सडक दुर्घटना भइरहेको प्रति यहाँका विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएका छन्।
सवारी दुर्घघटना न्युनीकरणका लागि बुटवलको निर्माणाधिन व्यस्त सडक र त्यसमा पनि तीव्रगतिमा टिपर लगायतका हेभी सवारी साधनका लागि निश्चित रुट र समयतालिका निर्धारण गरी सञ्चालन गर्न पनि ती संगठनले माग गरेका हुन्।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डे, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रुपेश पौडेल र अखिल (छैटौं) का जिल्ला अध्यक्ष सरोजमान सिंहद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा आइतबार बिहान बुटवलको व्यस्त बजार अस्पताल लाइनमा स्कुटरलाई टिपरले ठक्कर दिई विद्यार्थी नेता दलबहादुर भण्डारीको निधन भएकोप्रति दुःख व्यक्त गर्दै पीडित पक्षलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्।
विद्यार्थी संगठनको संयुक्त बैठकले सवारी चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ बजेसम्म र दिनको ३ देखि ५ बजेसम्म टिपर बन्द गर्नुपर्ने, बजार क्षेत्रमा गति सीमित गर्नुपर्ने र ओभरलोड हटाउन सम्बन्धित पक्षसँग माग गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।