डडेल्धुरा- शिक्षकको काम के होला? सजिलै उत्तर आउँछ, बिहान १० बजेदेखि ४ बजे विद्यालय जाने र अध्यापन गराउने। यसमा अरु थप भए कुनै राजनीतिक दलको गुणगान गाउने भन्ने उत्तर पनि आउला। चिया पसलमा राजनीतिक दल र तिनका भातृसंगठनका कार्यक्रममा धाउने, नभए ट्युसन कक्षा दिने, यो पनि थप हुन सक्ला। कसैले नयाँ अपडेट राख्न अध्ययनमा बाँकी समय सदुपयोग गर्ने पनि भन्न सक्लान् तर यो उत्तर दिने थोरै छन्। आफूलाई नयाँ विषयमा अपडेट राख्नुका साथै अन्यभन्दा भिन्न छन् शिक्षक, प्रकाशबहादुर ऐर।

बिहान ६ बजेबाट ९ बजे (३ घन्टा) र साँझ ५ देखि करिब ८ सम्म (३ घन्टा) गरी मातृभूमिको कृषिकर्ममा रमाउने ऐर ३ महिना आलुसँग रमाउँछन्। उनी ३ महिना काउलीबाट मनोरञ्जन लिन्छन् भने अन्य समय घर वरपरका बोट बिरुवा, गाई भौंसी, माछाहरुको हेरचाहमा बिताउँछन्। 
.JPG)
डडेल्धुरा सदमुकामबाट ५ किलोमीटर दुरीमा अमरगढी नगरपालिका–१ सुन्दर आलुबारी रहेको स्थान तडिपाटा। पढाउने विद्यालय घरदेखि १५ मिनेटको दुरीमा रेहेको असिग्राम मावि भातकाँडा। पढाउने विषय गणित र विज्ञान। 
तपाईंलाई लाग्ला आलुलगायत अन्य बाली त खान चाहिन्छ, शिक्षकलाई पनि नचाहिने कुरा भएन। उनले खानका लागि पर्याप्त राखेर पनि एक सिजन अर्थात् ३ महिनामा करिब १२ लाख बराबरको आलु बिक्री गर्छन्। 'राम्रो उत्पादन भएको समयमा १२ लाख र कम उत्पादन भएको वर्षमा ७ लाख आम्दानी हुने गरेको छ,' शिक्षक ऐर भन्छन्। उनी शिक्षक भएको पनि २२ वर्ष बितिसकेको छ। '७ वर्ष करार र १५ वर्ष स्थायी। १४ रोपनी जमीनमा आलुखेती सुरु गरेको २० वर्ष भइसकेछ,' उनले भने।  

'अहिले सदर १२ देखि १५ टन आलु उत्पादन हुन्छ। बिक्री वितरणमा समस्या छैन,' ऐरले आलुबाट सन्तुष्ट भएको संकेत गरे।  बिउ आलु उत्पादन गरेको वर्ष नजिकैको उग्रतारा सितभण्डारमा राख्छन् उनी। तराईका जिल्ला कैलाली, कञ्चनपुर र पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, डोटीका विभिन्न स्थानीय तहले सजिलै घरैबाट खरिद गरेर लैजान्छन् उनले उत्पादन गरेका आलु। आलुबाहेक पनि अन्य थुप्रै प्रकारका तरकारी बाली लगाउने गरेका छन् उनले। 

उनको यो कार्यमा थप बल तथा प्रोत्साहन स्वरुप प्रधानमन्त्री आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन इकाइ आलु सुपर जोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ। सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उनले बताए। 
अहिले खायन आलु (खानका लागि लगाएको आलु) मात्र होइन। आलुको बिउ पनि उत्पादन गर्न थालेका छन् उनले। खायन आलुको मूल्य प्रतिकेजी २५ देखि ३० रुपैयाँसम्म पर्ने गरेको छ भने बिउ आलुको मूल्य ७० देखि ८० रुपैयाँसम्ममा रहेको छ। उनले भने, ‘मेरो जीवन नै आलुखेतीमा बित्न लागिसक्यो। व्यवसायिक आलुखेतीमा मुनाफा त छँदै छ, आनन्द पनि मलाई यहीँ छ। घरपरिवारका सदस्यले सहयोग गरेका छन्। सकिनँ भने केही सयमका लागि ज्यालाका श्रमिक पनि राख्ने गरेको छु।’ 
व्यवसायिक खेतीबाट मैले २० वर्षमा १४ रोपनी जमीन खरिद गरेँ। करिब १ करोडको घर बनाएँ। ६ जनाको परिवार छ उनको। ‘एक छोरालाई काठमाडौंमा बायोलोजी पढाउँदैछु। एक छोरी अनमी पढाएँ, एक छोरी कृषि प्राविधिक पास गरेकी छन् भने एक छोरीको बिहे गरिसकेको छु,’ उनले भने।
खेतबारीमा काम गर्ने भने श्रीमानश्रीमती मात्र। उनले खुशी व्यक्त गर्दै भने, ‘दुई जना नै काफी छ हजुर। अहिले यन्त्रीकरणको युग आइसक्यो। खेत जोत्न गोरु चाहिँदैन। हाते ट्क्याटर छ। सजिलो भा'छ।’ 
.JPG)
विगतमा मकै बालीमा सीमित तडिपाटा गाउँ अहिले नगदे बालीमा स्थानान्तरण भएको छ।
आलुको सुपरजोन नै घोषणा भएको यो क्षेत्रका अधिंकाश खेतबारीमा यो समयमा हरियाली छ। धेरै स्थानमा सिँचाईको सुविधा छैन भन्दै काम गर्ने छोडेका उदाहरण छन्।
.JPG)
इच्छाशक्ति भए सबै हुन्छ भनेजस्तै कृषक ऐरले खेतीभन्दा तलको खोलाबाट मोटरले बारीमा पानी तानेका छन्। 'गरे के सम्भाव छैन, नेपालमा घरमै बसेर काम गरे महिनाको १ लाखको रोजगारी पाइन्छ,' उदाहरणीय बनेका शिक्षक ऐरले भने।
विदेशिने युवालाई उनले आफ्नै देशमा काम गर्न सुझाव दिने गरेका छन्।
.JPG)
'विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा कृषि वा अन्य व्यवसाय गरेर मनग्य आम्दानी हुने भएकाले स्देशमै केही गर्न सुझाव दिने मात्र गरेको छु,' उनले कुराकानीको बिट मारे। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।