काठमाडौं– धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजना केही समयका लागि स्थगित भएको छ।
निर्माण स्थलमा लगाइएको तारबारमा बुधबार डोजर चलेपछि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले प्रेस विज्ञप्तिमार्फत् स्थगित भएको जानकारी दिएका हुन्।
परियोजनाको सुरुवातदेखि नै काममा असहजता सिर्जना गराउने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी धम्क्याउने लगायतका कामहरू केही उत्श्रृंखल समूहबाट हुँदै आएको भन्दै उनले बारमा डोजर चलाउनेप्रति भर्त्सनासमेत गरेका छन्।
समस्याको स्थायी समाधान र सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि परियोजना स्थगित गरिएको उनले जानकारी दिए।
'परियोजना भित्रको सुरक्षाको स्थिति र कार्यवातावरण तयार गर्न लगाइएको अस्थायी बारबेरमा सुनियोजित रुपमा स्थानीयलाई भ्रामक दुष्पचार गरी समूहमा आइ जबरजस्ती जुन खालको गतिबिधि भयो। यसबाट कार्यवातावरण कर्मचारी कामदारको जिउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षाको विषयमा गम्भीर परिस्थितिको सिर्जना भएको हुँदा स्थायी समाधान र कार्यावातावरण तयार नभएसम्मका लागि परियोजनाको कामबारबाही स्थगित भएको छ,' फाउण्डेशनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बाटोको माग गर्दै रंगशाला रंगशाला निर्माणका लागि प्राप्त जग्गामा लगाइएको बारमा बुधबार डोजर चलाइएको थियो।
२०७५ माघ १६ गते सरकारको रोहबरमा त्रिपक्षीय सम्झौता भएपछि धुर्मुस सुन्तली फाउण्डेशनको संयोजकत्वमा भरतपुर महानगरपालिका–१५ शान्तिचोकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सुरु भएको थियो।
फाउण्डेशनले जारी गरेको विज्ञप्ति:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।