काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ। बुधबार भएको खेलमा पुलिसले प्रदेश १ लाई ७५ रनले पराजित गरेको हो।
समूह बीमा पुलिस ४ अंक जोडेर दोस्रो स्थानमा छ। लगातार तीन जित निकालेको त्रिभुवन आर्मी शीर्ष स्थानमा छ। लगातार तीन खेलमा पराजित भएको कर्णाली बाहिरिएको छ।
बुधबार मुलपानी मैदानमा पुलिसले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ३८.३ ओभरमा अलआउट हुँदा १ सय १० रन बनाउन सक्यो। प्रदेश १ का लागि सनी पुनले २७ रन जोड्दा मिनास थापाले १९ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख रन जोड्न सकेनन्।
बलिङमा पुलिसका दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिए। उनले १० ओभरमा ४ मेडन राख्दा २६ रन मात्र दिए। ललितनारायण राजवंशीले ३ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४३.१ ओभरमा १ सय ८५ रनमा अलआउट भयो। पुलिसका लागि अमित श्रेष्ठले शतक प्रहार गरे। उनले १ सय १८ बलमा १५ चौका र १ छक्का हिर्काए। कुशल भुर्तेलले २४ रन जोडे भने मन्जित श्रेष्ठ र रामनरेश गिरीले ११–११ रन बटुले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा प्रदेश १ का कमल खत्री, फिर्दोस अन्सारी, पुष्प थापा, दिपेश कँडेल र सिद्धान्त लोहनीले २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।