काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले पहिलो जित हात पारेको दिन कर्णाली प्रदेश तेस्रो खेलमा पराजित भएको छ।
बुधबार भएको समूह 'बी' को खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ ओभरमा १ विकेटको क्षतिमा पार गर्यो। प्रदेश २ का लागि रवि साहले नटआउट १६ रन र हरिशंकर साहले नटआउट ५५ रन जोडे। हसिम अन्सारी भने १७ रनमा आउट भएका थिए। बलिङमा प्रकास जैसीले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ कर्णाली प्रदेश ३०.४ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो। कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिँदा रवीन्द्र शाहीले १४ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यमानले दोहोरो अङ्क जोड्न सकेनन् ।
कर्णालीलाई सस्तैमा समेट्नेक्रममा प्रदेश नं २ का कुमार थापाले व्यक्तिगत तीन विकेट लिए भने राशिद खान, हरिशंकर साह र सम्सद शेखले समान २-२ विकेट लिए।
कर्णाली यसअघि त्रिभुवन आर्मी क्लब र पुलिस क्लबसँग पराजित भएको थियो। यसअघि एक खेल खेलेको प्रदेश नं २ आर्मीसँग पराजित भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।