काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो खेलमा जित हात पारेको छ। समूह 'बी' को खेलमा आर्मीले मंगलबार कार्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
आर्मीले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको कार्णाली ३५.१ ओभरमा १ सय ७३ रनमा अलआउट भयो। कर्णालीका लागि सुशान्त थापाले ३१ रन जोडे। रवीन्द्र शाहीले १३ रन बटुल्दा ललित प्याकुरेलले नटआउट २८ रन र युनिस सिंहले २० रन बटुले। बलिङमा आर्मीका सुसन भारीले ४ विकेट लिए। अघिल्लो खेलमा ह्याट्रिक लिएका उनले ९ ओभरमा ३६ रन खर्चिए। सहाब अलाम र करण केसीले २–२ विकेट लिए।
त्यसअघि आर्मीले ९ विकेटको क्षतिमा २ सय ९० रन जोड्यो। आर्मीका ओपनर हरिकृष्ण झाले ५२ रन जोडे भने उनका ओपनिङ पार्टनर राजु रिजालले ६६ रन बटुले। उनले ७८ बलमा १० चौका हिर्काए। रिजाल खेलको म्यान अफ दि म्याच भए।
रोहितकुमार पौडेलले ५६ रन जोडे भने कप्तान विनोद भण्डारी ५ रनमै आउट भए। करण केसीद्ये २८ रनको योगदान दिए। लोकेन्द्र चन्द र सहाब अलामले नटआउट १६–१६ रन जोडे। बलिङमा कर्णालीका ललित प्याकुरेलले ५ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।