काठमाडौं– धरानका राजन विश्वकर्मा (नाम परिवर्तन) को उमेर जब २० उकालो लाग्यो, तब परिवारमा उनको जिम्मेवारी थपियो।
घरमा चार दाजुभाइ थिए। तर सबै आ–आफ्नै काममा व्यस्त।
राजनले आफ्नो भविष्य सोचे। ‘जीवन सुन्दर बनाउन त कमाउनै पर्छ’ भन्ने उनले निष्कर्ष निकाले।
घरका कान्छा छोरा। उसो त काँधमा थपिएको जिम्मेवारीले उनलाई पिरोलिरह्यो। देशमै बसेर राम्रो कमाइ गर्ने योजना बनाए राजनले। तर, न भनेजस्तो काम पाए न चाहेजति पैसा।
राजनले विदेश जाने सोच गरे। यसैक्रममा उनको भेट एक जना साथीसँग भयो।
भेटमा ती साथीले उनलाई राम्रो कामका लागि लिबिया पठाउन सकिने बताए।
‘लिबियामा डेरी मिल्क कम्पनीमा प्याकिङ कामका लागि डिमाण्ड आएको छ। कमाइ मासिक १ हजार अमेरिकी डलर हुन्छ,’ती साथीले आश्वासन दिँदै भने, ‘जाँदा राम्रो हुन्छ। विचार गर।’
भविष्यलाई सुनौलो सपना साँचिरहेका राजनलाई लिबियामा डेरी मिल्क कम्पनीको काम र त्यहाँकाे कमाइले लोभ्यायो।
उनी लिबिया जान तयार भए।
लिबिया जानका लागि उनकै साथीले चिनेका एक जना मानिसलाई काठमाडौंमा भेट्नुपर्ने भयो।
राजन काठमाडौं आए। उनले राहुल गहतराज भनेर चिनिने तीर्थ विश्वकर्मालाई काठमाडौं सामाखुसीमा भेटे। तीर्थले उनलाई लिबियामा निकै सजिलो काम भएको र धेरै कमाइ हुने भन्दै लोभ्याए।
मासिक १ हजार डलर कमाइ, खान, बस्न, ओभरटाइम लगायत सुविधा हुने भनेपछि राजन हुरुक्कै भए। लिबिया जानका लागि ४ लाख लागत लाग्ने सुनाइयो।
श्रम स्विकृति एजेन्ट तीर्थले नै सबै मिलाइदिने भएकाले उनलाई वैदेशिक रोजगार विभागसम्म धाउनै नपर्ने भयो। वैदेशिक रोजगारीमा पहिलो पटक जान लागेकाले राजनलाई श्रम स्विकृतिबारे खासै जानकारी पनि थिएन।
राजनले एजेन्ट तीर्थको सबै कुरा सजिलै विश्वास गरे।
वैदेशिक रोजगारीका लागि खाडीमै भए पनि जाने सोच बनाइरहेका राजनले सोचेभन्दा राम्रो कमाइ हुने देश जान पाउने भएपछि उनले ४ लाख रुपैयाँ यसकडा ३ ब्याजदरमा ऋण लिए।
उनले ४ लाख तीर्थ विश्वकर्मालाई बुझाए। रकम बुझाएको केही महिनापछि राजन लिबिया जाने पक्का भयो। सेप्टेम्बर ६ मा उनी युएई हुँदै लिबिया जानका लागि उडे।
उनी लिबिया त पुगे। तर, उनको सपना क्षणभरमै टुक्रियो। उनी अतालिए। छट्पटाए। सुनाइए र अपेक्षा गरेभन्दा फरक थियो त्यहाँको परिवेश।
‘युएई पुगेपछि मलाई होटलमा राखियो। होटलको भुइँमा दुःख झेलेर झण्डै एक महिना रात कटाएँ,’ राजनले दुःख बिसाए।
सेप्टेम्बर २१ मा राजनलाई युएईबाट लिबियाको राजधानी त्रिपोली पुर्याइयो।
तातो घाममा बारी खन्ने काम
डेरी मिल्क कम्पनीमा प्याकिङको काम भनिएको थियो। तर, राजनलाई सुरुमा त्यहाँको मजरा (कृषि फारम)मा अंगुर टिप्ने काम गर्नुपर्ने भनियो। लिबियाली नागरिकहरूले अरबी भाषा बोल्ने भएकाले राजनलाई भाषाको समस्या भने थिएन।
‘लिबियाको ४० डिग्रीको गर्मीमा बेल्चाले बारी खन्ने काम, नजिकै बम, बारुद बर्सिरहन्थ्यो। बाँचेर नेपाल फर्किन पाइन्छ भन्ने सोचेकै थिएन,’ राजनले विगत सम्झिए।
मासिक तलब २ सय ५० डलर मात्रै
मासिक तलब १ हजार डलर हुने सुनाएर एजेन्टले लिबिया पुर्याएपछि पनि उनको वास्तविक तलब भने २ सय ५० डलर मात्रै थियो।
खान बस्न समेत निकै समस्या।
‘भोक लाग्दा खाने खाना पनि नहुँदा कहिलेकाँही सखरखण्डका पात र मुन्टाहरू टिपेर पानीमा भिजाएर पनि चपाएँ, ८ महिना निकै मुस्किलले कटाएँ,’ राजनले मलिन हुँदै भने, विमानस्थल आइपुग्दा पूनर्जन्म पाएजस्तै लाग्यो।'
लिबियाको युद्धबाट बाँचेर नेपाल फर्कन पाइन्छ जस्तो लागेकै थिएन राजनलाई।
काम गरिरहेको ठाउँ नजिकै दिनहुँ युद्ध चलिरहेकै थियो। लिबियाली साहुसँग उनले नेपाल फर्कने कुरा गरे। तर, साहुले ३ हजार डलरमा आफले किनेकाले ३ हजार डलर नबुझाइ फर्कन नदिने धम्की दिए।
उनलाई अड्कल भयो, ‘ म त बेचिएको पो रहेछु।’
लिबियाको युद्धग्रस्त जञ्जालबाट फर्कन निकै कठिन थियो।
सम्बन्धित निकायलाई आफूहरू युद्धमा फसेको खबर गरेपछि पनि उनीहरूलाई कार्यस्थलबाट लिबियास्थित शान्तिसेनाको क्याम्पसम्म आउन समस्या परिरहेको थियो।
इजिप्टको कायरोस्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय आप्रवासी संघठन(आइएमओ) लिबियाली प्रहरी र शान्तिसेनाको टोलीको सहयोगमा उनी आइएमओको सेल्टरमा आइपुगे।
त्यसको दुई दिनपछि जेठ ८ गते नेपाल फर्किन सफल भए राजन।
‘विमान स्थल टेक्न पाउँदा नै पुनर्जन्म पाएजस्तै लाग्यो, जीन्दगीलाई माया मारिसकेको थिएँ, नेपालको माटो फेरि टेक्न पाइयो, घरमा आमाबुबा निकै चिन्तामा हुनुहुन्थ्यो, म नेपाल आइपुगेँ भन्ने खबर सुनेपछि सबै जना खुसी हुनुभएको छ,’ राजनले लामो श्वास फर्दै भने।
कसरी तिर्ने सयकडा तीन?
सय कडा तीन ब्याजदरका हिसाबले साहुबाट लिएको ४ लाख रकम साँवा/ब्याजसहित कसरी तिर्ने भन्ने चिन्ताले राजनलाई पिरोल्न थालेको छ।
राम्रो काम र कमाइको प्रलोभनमा पर्दा, एकातिर ज्यान नै जोखिममा पर्यो, अर्कातिर ४ लाख ऋणको भारीले उनलाई थिचेको छ।
पहिलो पटक परदेश जाँदा नै समस्यामा परेर फर्किएका राजनलाई फेरि वैदेशिक रोजगारीमा जाने मन त पटक्कै छैन।
तर, ४ लाख साहुको ऋण तिर्नकै लागि भएपनि एकपटक फेरि वैदेशिक रोजगारीमा जान उनी बाध्य छन।
आफैंले आफैंलाई प्रश्न गर्छन् राजन, ‘देशमा भनेजस्तो काम पनि छैन अनि कसरी तिर्ने साहुको सयकडा तीन?’
उनी भन्छन्, ‘बरु खाडी नै जान्छु तर अब विदेश जाँदा इजाजत प्राप्त संस्थाबाट श्रम स्विकृति लिएर सबैकुरा राम्रोसँग बुझेर मात्रै जान्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।