बग्दाद, इराक- इस्लामिक स्टेट (आइएस) समूहसँग लामो समयदेखि जुधिरहेको इराकी सेनाले पश्चिमी इराकका मरूभूमि तथा सम्पूर्ण सीमाक्षेत्रलाई आइएसबाट मुक्त गरेको शनिबार जानकारी गराएको छ।
इराकको सबै भूमिलाई आइएसबाट पूर्ण नियन्त्रणमा लिने सफलता इराकी सेनालाइ मिलेको पश्चिमी इराक सुरक्षा अभियानका कमान्डर लेफ्टिनेन्ट जनरल अब्दुल अमिर रसीद याराल्लाहले जारी गरेको एक संक्षिप्त विज्ञप्तिमा उल्लेख गरिएको छ। अब सेनाले आइएसको इराक प्रवेशमा रोक लगाउन सिरियासँगको सीमा क्षेत्रलाई कडा बनाउने उनले बताएका छन्।
'सैनिक तथा अर्धसैनिक बलको हासद सावी ब्रिगेडले स्थल तथा इराकी हेलिकोप्टरबाट गरेको कारबाहीपछि नाइनभे र अनवरबीचको मरुभूमि क्षेत्रलाई कब्जामा लिएको हो,' याराल्लाहले भने।
सेनाले पछिल्लो २४ घन्टामा गरेको कारबाहीपछिको सफलताले अब आइएस प्रभावित एक हजार ६ सय वर्ग किलोमिटर जमिनमा रहेका ९० गाउँमाथि नियन्त्रण जमाएको छ।
इराकी सेनाले इराक सिरिया सीमाको १८३ किलोमिटर क्षेत्रलाई सुरक्षा दिइबसेको याराल्लाहले बताए।
गत नोभेम्बर ५ मा इराकी प्रधानमन्त्री हैदर अल अवादीले इराक–सिरियाको हुसैवाह सीमामा राष्ट्रिय झन्डा फहराउँदै छिट्टै इराक आइएसको आक्रमण खतराबाट मुक्त हुने जनाएका थिए।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।