सप्तरी– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जितसँगै मधेस मुद्दालाई जनताले अनुमोदन गरेको बताएका छन्। शनिबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि यादवले आफ्नो जितसँगै मधेसका मुद्दाले वैधानिकता पाएको बताए। उनले मधेस मुद्दाका बाँकी माग पूरा गराउन प्रतिबद्ध रहेको उल्लेख गरे।
यादवले मधेसका मुद्दा नेताहरुको मात्र भएको जनतालाई कुनै चासो नभएको भनी लाग्ने गरेको आरोप निर्वाचनले गलत साबित गरेको बताए। नेपाल लाइभसँगको कुराकानीमा उनले भने, ‘हामीले मधेसका मुद्दा कहिल्यै छोडेका छैनौं, संघर्षको रुपमा मात्र फेरिएको हो। मधेसका मुद्दा मधेसी जनताकै मुद्दा हो भन्ने कुरा निर्वाचनमा हामीले पाएको मतले पुष्टि गरेको छ।’
जन्मभूमिले आफूलाई माया गरेर विजयी बनाएको भन्दै उनले खुसी व्यक्त गरे। यसअघि सुनसरी र मोरङबाट चुनाव लड्दै आएका यावद यो निर्वाचनमा आफ्नै जन्मजिल्ला सप्तरी आएका हुन्। सप्तरी क्षेत्र नम्बर २ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै यादवले भने, ‘जन्मभूमिप्रतिको ऋण तिर्न पनि सप्तरीलाई म समृद्ध जिल्ला बनाउँछु।’
यादवले वाम गठबन्धन र माओवादी केन्द्रका साझा उम्मेदवार उमेश यादव र स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरलाई भारी मतअन्तरले पराजित गरेका हुन्।
२१ हजार ६ सय २० मत ल्याएर विजयी भएका यादवले निकटतम प्रतिद्वन्द्वी भन्दा १० हजार ४१ मत बढी ल्याएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।