काठमाडौं- नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीले जनताको राजनीतिक स्थायित्वको चाहाना निर्वाचनमार्फत देखिएको बताएका छन्।
कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अधिकारीले अबको यात्रा देशको समृद्वि र विकास मात्र रहेको उल्लेख गरे। कास्कीबाट दुवै संविधानसभा निर्वाचन र अहिलेको चुनाव जितेर ह्याट्रिक गरेका अधिकारीले नेपाल लाइभसँग कुरा गर्दै भने, 'भ्रष्टचारमुक्त समाज र सुशासन सहितको आर्थिक विकाश हासिल गर्न जनताले वाम गठबन्धनलाई बहुमत दिएका छन्।'
उनले स्थिर सरकार निर्माण गर्न जनताले एमाले र माओवादीको पक्षमा मत दिएको उल्लेख गरे। ‘जनताले राजनीतिक स्थायित्वको चाहना राखेका छन्, विकास र समृद्वि चाहेका छन,’ उनले भने, ‘त्यसका लागि कुनै एक गठबन्धनलाई बहुमत दिनुपर्छ भन्ने जनताको चाहाना हो, सोही अनुसार एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले विश्वास गरेका छन्।’
आफू राष्ट्रिय विकास, समृद्धि र गृह जिल्ला कास्कीको आर्थिक विकासमा केन्द्रित हुने बताउँदै नेता अधिकारीले आम जनताको जीवनस्तर उकास्न र देशलाई विकासशील राष्ट्रको स्थानमा पुर्याउन आफूले योगदान गर्ने बताए। ‘आममानिसको जीवनस्तर उकास्न आवश्यक छ, अधिकारको लडाइँ सकिएको छ,’ उनले थपे, ‘अब विकास र समृद्धिको लडाइँ सुरु भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।