रोल्पा– बाँस चिरेर बनाइएका कोठाको चारैतिर त्रिपाल छाइएको छ। 
छानो, गारो र ढोकासमेत एउटै त्रिपालको। त्रिपालको तापले कोठाभित्र हपक्क तातो हुन्छ। एकैछिन बिताउन पनि मुस्किल। 
कोठामा प्रकाश छिर्ने ठाउँ छैन। न उज्यालो छ, न हावा आवतजावत हुने ठाउँ। बन्द कोठाभित्र यत्रतत्र छरिएका काठका टुक्रा र फल्याकमा साना केटाकेटीहरू बसिरहेका छन्।
धुल्याम्मे भुइँ, छरपस्ट कागजका टुक्रा। 
हरेक कोठामा १५/२0 जना स–साना केटाकेटीहरू बसिरहेका छन्। 
बाढी पहिरो वा यस्तै अन्य प्राकृतिक प्रकोपबाट पीडित भएर पुनर्स्थापना भएकाहरूको बस्ने बास हैन यो।
पश्चिमोत्तर रोल्पाको परिवर्तन गाउँपालिका–३ एरिवाङमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोलबोटको अवस्था हो यो। 
जिल्लाकै पुरानो विद्यालय। 
विसं २०२२ सालमा विद्यालयको स्थापना भयो। प्राथमिक तहको पठनपाठन गरिँदै आएको विद्यालयमा ४३ वर्षपछि स्थानीय समुदायको पहलमा निमावि सञ्चालन गरियो।
२०७४ सालदेखि विद्यालयमा मावि तहको पठनपाठन सुरु भयो। 
विद्यालयमा रहेका १० वटा कक्षाकोठा मध्ये चार वटा कोठा मात्रै पक्की भवनमा छ। चार मध्ये एक कोठामा कार्यालय सञ्चालन गरिएको छ। 
कक्षा एकदेखि १० सम्म सञ्चालन गरिएको उक्त विद्यालयका बाँकी सात कोठा भने त्रिपालले बारेर बनाइएको छ। तीनवटा पक्की कोठामा बस्ने विद्यार्थीलाई भाग्यमानी मान्छन्, त्रिपालको कोठामा बस्ने छात्रछात्राहरू। 
सोही विद्यालयदेखि एक घण्टाको दूरीमा  पर्छ उपराष्ट्रपति नन्दबहादुर पुनको जन्मघर। 
प्रतिनिधि सभा स्वास्थ्य तथा शिक्षा समितिको सभापति जयपुरी घर्तीको जन्म घर पनि विद्यालयबाट एक घण्टाको दूरीमा छ। दुवैको जन्मघर परिवर्तन गाउँपालिका–२ रांसीमा पर्छ। नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री भीमकुमारी बुढाको घर पुग्न विद्यालयबाट आधा घण्टा हिँडे पुग्छ। सो विद्यालय र पूर्व मन्त्री बुढाको घर रहेको वडा एउटै हो।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको जन्मघर पुग्न उक्त विद्यालयबाट तीन घण्टा पैदल हिँड्नुपर्छ। 
बुढा परिवर्तन गाउँपालिका–१ कुरेलीका बासिन्दा हुन्। 
मूलधारको राजनीतिबाहिर रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ त्यसै गाउँका बासिन्दा हुन्।विद्यालयबाट चन्दको जन्मघर पुग्न पौने घण्टा हिँडे पुग्छ। सो विद्यालय र चन्दको जन्मघर साबिक इरिवाङ गाविसमा परे पनि पछिल्लो राज्य पुनर्संरचनासँगै चन्द परिवर्तन गाउँपालिका–६ को बासिन्दा भएका छन्। 
विद्यालयलाई चारैतिर घेरा हालेर बसेका यी नेताहरू महत्वपूर्ण जिम्मेवारीमा रहँदा पनि उनीहरूकै घर छेउको विद्यालय भने भवन, फर्निचर जस्ता आधारभूत वस्तुको अभावमा कक्षा सञ्चालन गर्न बाध्य हुँदै आएको छ। 
शिक्षकको समस्या पनि उस्तै। 
प्राथमिक तहका एक जना शिक्षक मात्रै स्थायी छन्। सिंहबहादुर चन्द, जो उक्त विद्यालयका प्रधानाध्यापक हुन्। राहत दरबन्दी ३ र निजी श्रोत समेत  गरी विद्यालयमा ७ जना शिक्षकले पठनपाठन गरिरहेका छन्। 
.jpg)
विद्यार्थी संख्या २ सय ५० भन्दा बढी रहेको सो विद्यालयले यसै वर्षदेखि कक्षा एकमा अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेको छ। 
‘हरेक वर्ष एक कक्षा थप्दै जाने लक्ष्यसहित यसै वर्षबाट कक्षा एकमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छौं,’ विद्यालयका निमित्त प्रधानाध्यापक नरबहादुर बुढाले भने, ‘भवनको अभावले त्रिपालले बारेर कक्षा सञ्चालन गर्न बाध्य भएका छौं।’ 
‘फर्निचर, पुस्तकालय, आइटी केही पनि छैन। दुर्गमलाई कसले हेर्छ र?’ निमित्त प्रधानाध्यापक बुढाले गुनासो पोखे। 
विद्यालयमा खानेपानी, शौचालयको समेत उस्तै समस्या छ। विद्यालयमा शौचालय त बनेको छ, शौचालयमा पानी नहँुदा विद्यार्थी बाहिरै दिसा/पिसाब गर्न बाध्य छन्। सहर बजारमा बालमैत्री शिक्षण सिकाइको बहस भइरहँदा सो विद्यालयका बालबालिकाको भने यस्तो दुर्दसा छ। 
बालमैत्री पूर्वाधार, बालमैत्री सरसफाइ, बालमैत्री सिकाइले उनीहरूलाई छुन सकेको छैन। 
मुख छोपेर पढाउँछन् शिक्षक 
धुलाम्य कक्षाकोठामा उड्ने धुलाबाट बच्न शिक्षकहरू मुख छोपेर पढाउँछन्। 
‘विद्यार्थी आवतजावत गर्दा धुलो उड्छ। त्यसकारण मुख छोपेर बढाउन बाध्य छौं,’ एक शिक्षिकाले भनिन्, ‘तल्लो तहका विद्यार्थी बस्ने भएकाले उनीहरूलाई लिपपोत गर्न पनि लगाइएको छैन। एक जना कार्यालय सहयोगीले त्यति धेरै कक्षा लिपपोत गर्न भ्याउने कुरा पनि भएन।’ 
धुलोका कारण विद्यार्थीहरूको श्वासप्रश्वासमा समस्या देखिरहन्छ। स्वास्थ्यचौकी टाढा रहेकाले उनीहरू घरेलु उपचार गर्न बाध्य हुँदै आएका छन्। धुलोका कारण शरीर र कपडा दिनहुँ फोहोर हुने समस्या भोग्दै आएका छन्। 
कागजका टुक्रासमेत कक्षा कोठामा यत्रतत्र फालिएका छन्।
.jpg)
धेरै कागज थुप्रिए विद्यार्थी आफैं उठाएर फाल्छन्। बस्नको लागि बेञ्च पनि छैन। काठका टुक्रा र फल्याक ओछ्याएर बस्छन् उनीहरू। नजिक घर हुनेले घरबाट चकटी लिएर आउँछन्। टाढा घर हुनेहरू भने काठको टुक्रा ओछ्याएर दैनिक ६ घण्टा बिताउने गर्छन्। 
धुल्याम्मे कोठामा बस्नुपर्ने बाध्यता, हात धुनको लागि साबुन र पानीको अभाव, खुला ठाउँमा गरिँदै आएको दिसा पिसाबका कारण विद्यार्थीहरूमा संक्रमणको खतरा बढ्दै गएको छ। 
कक्षा कोठको प्रतिकूल वातावरणमा बस्दा हुने शारीरिक समस्याले बिरामी पर्दा उपचार गर्ने स्वास्थ्य संस्थासमेत नजिक छैनन्। बिरामी हुँदा घण्टौं हिँडेर उपचार गर्न जानुपर्ने बाध्यता छ। 
विद्यालय भवनमा वडा कार्यालय 
विद्यालयको एक भवन वडा कार्यालयले प्रयोग गरिरहेको छ। वडा कार्यालयको आफ्नै भवन नभएका कारण विद्यालयको उक्त भवन प्रयोगमा ल्याएको हो। 
‘विद्यालयलाई मासिक भाडा दिने गरी कोठा लिएका छौं,’ वडाध्यक्ष भानसिंह बुढाले भने। 
वडा कार्यालयले भवन प्रयोग गरेबापत मासिक एक हजार भाडा भुक्तानी दिँदै आएको छ। राज्यको पुनर्संरचनापछि साबिकको इरिवाङलाई २ वटा वडामा विभाजन गरेसँगैसंगै भाडामा वडा कार्यालय सञ्चालन गर्न बाध्य भएका हौं,’ वडाध्यक्ष बुढाले भने, ‘वडाको केन्द्रमा सोही स्थान पर्ने भएकाले पनि विद्यालयको भवनमा वडा कार्यालय सञ्चालन गर्न बाध्य भयौं।’ 
.jpg)
वडा कार्यालय भवन निर्माण प्रक्रिया अघि बढेकाले चाँडै उक्त भवन विद्यालयलाई छाडिदिने बुढाको भनाइ छ। विद्यालयको कक्षाकोठा थपका लागि गाउँपालिकाबाट काम भइरहेको वडाध्यक्ष बुढाले बताए। 
फर्निचर, शौचालय, पानी र पुस्तकालयका लागि समेत आगामी आर्थिक वर्षको बजेट विनियोजनका लागि स्थानीय सरकारसँग अनुरोध गर्ने वडाध्यक्ष बुढाको भनाइ छ। 
गाउँपालिकाकै दुर्गम वडा भएकाले विद्यालय सञ्चालनमा समेत समस्या भोग्दै आएको स्थानीय अभिभावकको गुनासो छ। यसैवर्ष थप ४ जना निजी स्रोतमा शिक्षक राख्ने गरी काम थालनी भएको स्थानीय अभिभावक गगन बुढाले जानकारी दिए। 
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको अधिकांश बजेट सडक निर्माणमा खर्च भइरहेको छ। चुनावलक्षित यस्ता विकास अधिकांश अनावश्यक समेत देखिएको स्थानीयको गुनासो छ।
कार्यकर्ता पोस्न सहज हुने भएकाले बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च हुने गरेको स्थानीय बताउँछन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।