काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सामाजिक सञ्जाल गतिविधि निर्वाचन विवादको केन्द्रमा पुगेको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको हो ।
धर्मराज तिमिल्सिनाले आयोगमा दायर गरेको उजुरीमा बालेन शाहको अभिव्यक्ति तथ्यमा आधारित नभएको, घृणा र द्वेष फैलाउने खालको रहेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उल्लेख छ । यस्तो गतिविधिले निष्पक्ष निर्वाचन वातावरणलाई नै प्रभावित पार्ने भन्दै आवश्यक कारबाहीको माग गरिएको छ ।
उजुरीमा उल्लेख भएअनुसार एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक रूपमा राजनीतिक दलका शीर्ष नेताहरूबीच पारदर्शी, बौद्धिक र मर्यादित बहस हुनुपर्ने प्रस्ताव अघि सारेका थिए । लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित आएको उक्त प्रस्तावको जवाफमा रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले सामाजिक सञ्जालमार्फत ओलीमाथि ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता गम्भीर आरोप लगाएका थिए ।
उजुरीकर्ता तिमिल्सिनाका अनुसार यस्ता अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत मात्र होइनन्, ती मानमर्दन गर्ने, घृणा फैलाउने र मतदातालाई भ्रमित पार्ने प्रकृतिका छन् । कुनै प्रमाण वा अदालतको फैसलाविना सार्वजनिक रूपमा यसरी गम्भीर आरोप लगाइनु राजनीतिक प्रतिशोधको उदाहरण भएको र यसले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने उजुरीमा उल्लेख गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।