काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थापनमा कुनै पनि प्रकारको कमजोरी स्वीकार्य नहुने स्पष्ट निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा माघ ११ गतेदेखि विभिन्न कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले सुरक्षा व्यवस्थापनमा त्रुटि गर्ने व्यक्ति वा कमाण्ड तहका जिम्मेवारमाथि तत्काल कारबाही गरिने चेतावनी दिएका हुन् ।
उनले निर्वाचन केन्द्रित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यावसायिकता, तत्परता र समन्वयका साथ परिचालित हुन निर्देशन दिए । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन संगठनको सम्पूर्ण संयन्त्र सक्रिय हुनुपर्ने उल्लेख गर्दै कमजोर नेतृत्व र लापरवाही देखिएमा कडा कारबाही गरिने बताए ।
महानिरीक्षक अर्यालले कमाण्डको जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई पदअनुसारको उत्तरदायित्व बहन गर्दै आचारसंहिताको पूर्ण पालना गराई मातहतका कर्मचारी परिचालन गर्न निर्देशन दिएका छन् । कार्यक्षेत्रमा अनुशासनहीनता, बदमासी वा गैरकानुनी गतिविधिमा संलग्न भएमा तुरुन्तै कारबाही हुने उनले स्पष्ट पारे ।
त्यसैगरी संगठनको दीर्घकालीन सोच र नीतिअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले राजस्व चुहावट नियन्त्रण, सीमा सुरक्षामा सक्रियता, नियमित गस्ती, पेट्रोलिङ र सञ्चालनात्मक गतिविधि प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिए । आर्थिक पारदर्शिता कायम गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।