काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचनको नतिजालाई जिम्मेवारीपूर्वक आत्मसात् गर्न वाम गठबन्धनका एक नेता नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएलगत्तै विजय-सभालाई सम्बोधन गर्दै थापाले प्राप्त जितलाई जिम्मेवारीको रुपमा लिँदै अहंकारबाट मुक्त हुन एमाले नेतृत्वलाई सुझाव दिए।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अधिकांश ठाउँमा वाम गठबन्धनको पक्षमा नतिजा आइरहँदा नेता थापाले यस्तो सुझाव दिएका हुन्।
'०६४ को निर्वाचनमा पनि माओवादीमा यस्तै अहंकार देखिएको थियो’, थापाले भने, ‘जितलाई जिम्मेवारीको रुपमा लिनुस्, अहंकारको भारीले थिच्छ, यसबाट मुक्त हुनुस्।’
चुनावी अभियानको अन्तिम दिन विप्लव माओवादीको बम आक्रमणबाट आफूसहित कांग्रेसका ११ जना कार्यकर्ता घाइते भएको सन्दर्भमा एमाले अध्यक्ष ओलीले गरेको टिप्पणीप्रति समेत नेता थापाले आक्रोश प्रकट गरे।
ओलीले एक टेलिभिजन अन्तर्वार्तामा बम आक्रमणको घटना कांग्रेसबाटै प्रायोजित हुन सक्ने बताएका थिए। सोप्रति लक्षित गर्दै नेता थापाले भने, ‘टेलिभिजनको अन्तर्वार्तामा बम विस्फोटको घटना प्रयोजित रहेको हुन सक्ने भन्नेसम्मको टिप्पणी गर्ने ओलीप्रति खेद प्रकट गर्न चाहन्छु।'
प्रारम्भिक मतपरिणामबाट नेता कार्यकर्तालाई नआत्तिन आग्रह गर्दै थापाले कांग्रेसलाई जरैदेखि सुधार्ने संकल्प गर्न आह्वान गरे।
‘निर्वाचनको नतिजाबाट हतोत्साहित नहुन सम्पूर्णमा आग्रह गर्न चाहन्छु’, उनले भने ‘कांग्रेस फेरि उठ्नेछ, फेरि जाग्नेछ। पार्टीलाई जरैदेखि माथिसम्म सुधार्ने संकल्प गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।