राजविराज- बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा भूमाफियाले हडपेको चर्चा सेलाएको छैन। सत्तारुढ दल नेकपाका सचिव विष्णु पौडेलेकै नाम जोडिएपछि ललिता निवास जग्गा प्रकरणले खुबै चर्चा पायो।
ललिता निवास जग्गा प्रकरणपछि उपत्यका बाहिर पनि सडक, विद्यालय, मन्दिर गुठीलगायतका सार्वजनिक सरोकारका ठाउँमा जग्गाको खोजी सुरु भएको छ। कतिपय ठाउँमा जग्गा कब्जाको विषय सार्वजनिक भईसकेको छ भने कतिपय स्थानमा खोजी जारी छ। समग्रमा सार्वजनिक सम्पत्तिप्रति आम मानिसको चासो बढेको छ।
व्यक्तिका नाममा गौशालाको जग्गा
सप्तरी सदरमुकाम राजविराजस्थित ‘राजदेवी गौशाला’को जग्गा व्यक्तिका नाममा नामसारी गरिएको पाइएको छ। राजदेवी गौशालाका लागि राजविराज-९ मा २०३२/०३३ सालमै करिब साढे १४ कठ्ठा जग्गा खरिद गरिएको थियो। यसबाहेक तिलाठी कोईलाडी गाउँपालिका-१, महदेवामा पनि गौशालाको स्वामित्वमा करौडौं मूल्यको जग्गा थियो।
हाल राजविराज बाहेक अन्य स्थानमा भएको जग्गाका विषयमा सम्बन्धित निकाय बेखबर छ। तर, महदेवामा ३ बिघाभन्दा बढी जग्गा गौशालाका नाममा रहेको जानकारहरू बताउँछन्। उक्त जग्गा कसले भोगचलन गरिरहेको छ भन्ने पनि जानकारी सरोकारवाला निकायसमक्ष छैन।
राजविराजस्थित साढे १४ कठ्ठा जग्गामध्ये करिब ५ कठ्ठा जग्गा बिक्री भएको देखिएको छ। २०५० र २०५८ सालमा २ पटक गरी आधा दर्जन व्यक्तिका नाममा सो जग्गा नामसारी गरिएको नापी कार्यालयको रेकर्डमा उल्लेख छ।
गौशाला व्यवस्थापन समितिले जग्गादाता चण्डी दासका छोरा तथा व्यवस्थापन समितिका उपाध्यक्ष विन्देश्वरी प्रसादलाई जग्गा बिक्रीको अख्तियारी दिएको कागज मिसिलमा समावेश छ। त्यसबाहेक अन्य सरोकारवाला निकायको स्वीकृति र पत्र रेकर्डमा नभेटिएको भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरु बताउँछन्।
यसबाहेक कुञ्जविहारी सिंह र उनका परिवारका सदस्यले अदालतमा मुद्दा गरेर गौशालाको २ कठ्ठा १४ धुर जग्गा हडपेको स्थानीय ध्रुवप्रसाद देवले बताए। स्थानीय रविलाल चौधरीले गौशाला र सिंह दुवैलाई जग्गा बेचेका थिए।
जग्गा नापी गर्ने क्रममा सिंहले गौशालाको जग्गामा पनि दाबी प्रस्तुत गरे। छुट दर्ताका नाममा मालपोत कार्यालयमा उजुरी गरेपछि किचलो सुरु भएको थियो। सिंहले पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म मुद्दा दर्ता गराए। तर, सबै ठाउँमा सिंहले मुद्दा हारे।
गौशालाका अध्यक्ष धर्मदत्त कोइराला तथा कुञ्जविहारी दुवै जनाको मृत्यु भएपछि कुञ्जविहारीका छोराहरुले पुनः जिल्ला अदालतमा मुद्दा दर्ता गराए। मुद्दा फेरि सर्वोच्चसम्म पुग्यो। हरेक ठाउँमा गौशालाको विपक्षमा फैसला आयो।
मुद्दा जितेपछि उनीहरुले मालपोत र नापीका कर्मचारीलाई मिलाएर मुद्दामा दाबी गरेभन्दा फरक जग्गा नपाएको स्थानीयले आरोप लगाएका छन्।
अनभिज्ञ सरोकारवाला
राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई गौशालाको अवस्था तथा त्यसको चल–अचल सम्पत्तिका विषयमा कुनै जानकारी छैन। जानकारी छ त केवल दर्ताको मात्र। तर दर्ता पनि पहिलो पटक भएपछि हालसम्म नवीकरण नगरिएको मात्र जानकारी छ।
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले पनि गौशालाका विषयमा जानकारी लिने प्रयास भइरहेको बताए। ‘अधिकांश संस्थापक सदस्यको निधन भइसकेको छ,’ उनले भने, ‘जीवित रहेकाबाट पनि सबैकुरा जानकारी पाउने अवस्था छैन।’ गौशालाका ११ जना संस्थापकमध्ये हाल उपाध्यक्ष विन्देश्वरी दास, सीताराम कावरा र दुखा चौधरी मात्र जीवित छन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि गौशालाका बारेमा ‘गार्इँगुई’ सुने पनि यथार्थ जानकारी नपाएको प्रतिक्रिया दिए। ‘त्यस विषयमा सुनेपछि हामीले बुझ्न खोज्यौँ। तर, विधानसमेत फेला परेन,’ पौडेलले भने, ‘सम्बन्धित व्यक्तिलाई खोजेर यथार्थ जानकारी लिने प्रयासमा छौं।’
यस्तो छ गौशालाको इतिहास
सरकारले धानचामल निर्यात गर्न २०३१ देखि २०३८ सालसम्म ‘धानचामल कम्पनी’ संचालन गरेको थियो। अञ्चल सदरमुकामसमेत भएकाले राजविराजमा सगरमाथा धानचामल कम्पनीको कार्यालय खुल्यो। गोवर्धनबहादुर कार्की कम्पनीको जिएम (जेनेरल म्यानेजर) थिए।
२०३२/०३३ सालमा सप्तरीमा धानचामल व्यवसाय खस्कियो। व्यापारीहरु दुःख बिसाउन कार्की समक्ष पुगे। धार्मिक प्रवृत्तिका कार्कीले गौशाला स्थापना गर्ने सर्तमा व्यापारीलाई सहयोग गर्ने वचन दिए।
सोही सहमतिअनुसार अञ्चलाधीश कार्यालयमा ‘राजदेवि गौशाला’ दर्ता भई संचालनमा आयो। धर्मदत्त कोईराला अध्यक्ष भए। जग्गा किन्ने, गोठ बनाउने, गाई किन्नेलगायतका अधिकांश काममा चण्डी दास (उपाध्यक्षका पिता), सीताराम कावरालगायतका व्यापारीले सहयोग गरे।
२०५७ चैत १६ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा गौशाला दर्ता (दर्ता नं. ३१०) भएको छ। अध्यक्ष कोईरालाकै अथक प्रयासमा लामो समयसम्म गौशाला सञ्चालनमा रह्यो। २०६४ मा कोइरालाको निधन भएपछि श्रीभगवान सारडा अध्यक्ष भए। ३/४ वर्षपछि नै उनको पनि निधन भयो। कोइरालाको सेखपछि धर्मराएको गौशाला सारडाको निधनपछि लथालिंग भएको स्थानीयहरु बताउँछन्।
गौशालाका भएका संरचनासमेत अहिले अलपत्र परेका छन्। बाँकी जग्गा अतिक्रणमा पर्दै गएको छ।
जीर्ण अवस्थामा रहेका गोठमा गाँजा खाने र लागू औषध प्रयोग गर्नेको भीड लाग्ने गरेको स्थानीय राधा यादवले बताइन्।
उही नाममा २ संस्था दर्ता
जिल्ला प्रशासन कार्यालय सप्तरीमा २०७१ जेठ २७ गते ‘राजदेवी गौशाला’ नामको अर्को संस्था पनि दर्ता (दर्ता नं. १२२५) भएको छ।
नयाँ संस्थामा पुरानो संस्थाका संस्थापक उपाध्यक्ष विन्देश्वरी प्रसाद दासका छोरा अमित दास अध्यक्ष छन्।
यस विषयमा प्रशासन कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन। समितिका सदस्य ध्रुव देवले भने संस्था नयाँ दर्ता नभई नवीकरण गरिएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।