काठमाडौं– प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा पत्रकारलाई समाचार संकलन गर्न रोकिएको छ। संघीय निजामती सेवाको गठन/सञ्चालन र सेवाको सर्त सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक माथिको छलफलका क्रममा समाचार संकलनमा रोक लगाइएको हो।
समितिको बैठकमा समाचार संकलन गर्न लगाइएको रोकप्रति संसदीय मामिला पत्रकार समाजले विरोध जनाएको छ। खुला अवधारणामा आधारित मिनी संसद्को सार्वजनिक चासोको विषयमा आमसञ्चार माध्यमलाई सूचना संकलनमा निषेध गरिनु संविधानप्रदत्त आम सञ्चारको हकलाई संकुचित गर्ने नियत देखिएको समाजको ठहर समितिले गरेको छ।
महासचिव अशोक दाहाल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'संविधानले तोकेका आम सञ्चारको सीमाप्रति सञ्चार जगत सदैव सचेत छ। तर, प्रचलित कानुन र नियमावलीले निषेध नगरेको आम सरोकारका विषयमा पटक-पटक सूचना संकलनमा रोक लगाउने समितिको कदमप्रति समाज खेद व्यक्त गर्दछ।'
प्रचलित कानुनले प्रकाशन प्रसारणमा निषेध नगरेको सार्वजनिक सरोकारका कुनै पनि विषयमा अनावश्यक रुपमा सूचना संकलनमा बाधा नपुर्याउन समाजले समिति र संघीय संसद सचिवालयको ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।