'हामी'को ६८औं शृंखलामा सुनिए प्रतीक र सायन

नेपाल लाइभ | २०७६ जेठ २ बिहीबार | Thursday, May 16, 2019 ११:२६:०० मा प्रकाशित

काठमाडौं- 'हामी कवि र कविता'को ६८औं शृंखलामा विप्लव प्रतीक र रमेश सायनले आफ्ना कविता सुनाएका छन्।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा हरेक महिनाको पहिलो दिनझैं यसपटक (जेठ १) भने प्रतीक र सायन उपस्थित भए। 'हामी'मा कविता सुनाउनकै लागि मोरङबाट काठमाडौं आइपुगेका सायनले रातभरको यात्रा अनुभूति सुनाउँदै बुख्याचा, परिचय, जागिर, तस्बिरमा उभिएको मान्छे, नाम धनीमाया थारु- वर्ष चौरासी, यथार्थ,  हिउँदको लामो रात लगायत कविता सुनाए। अधिकांश कविताको रचनागर्भबारे उनले संक्षिप्त व्याख्यासमेत गरेका थिए।

मलाई वर्षौंदेखि राम्ररी चिन्ने मित्रहरूमध्ये
एकले भन्यो- तँ मूर्ख छस्, घमण्डी छस्
मलाई हो जस्तो लाग्यो
अर्कोले भन्यो- तँ विद्वान् छस्, असल छस्
मलाई यो पनि हो जस्तो लाग्यो
फेरि अर्कोले भन्यो- तँ निष्ठूर छस्, असामाजिक छस्
मलाई सोह्रै आना ठिक लाग्यो
फेरि अर्कोले आएर भन्यो- तँ पागल होस्, अराजक छस्
तँलाई जिन्दगी पटक्कै सुहाउँदैन 
यो पनि मलाई केही हदसम्म ठिक लाग्यो
अन्त्यमा मेरी प्रेमिका आइन् र भनिन्-
तिमी साँच्चै मूर्ख हौ
घमण्डी छौ
विद्वान् छौ
निष्ठूर छौ असामाजिक छौ
र, पागल पनि हौ
त्यसकारण तिमी सिंगो मान्छे हौ
म एक सिंगो मान्छेलाई औधी प्रेम गर्छु। (परिचय)

सायनले पहिलो चरणमा कविता सुनाएपछि अर्का कवि प्रतीक आफ्ना कविता बोकेर अगाडि देखापरे। सर्जकले लोभ, मोह त्यागेर निष्पक्ष भएर रचना गर्न सक्यो भने मात्रै त्यो कृतिको अर्थ रहने बताउँदै प्रस्तुत भएका उनले मेरो खुल्दुली, जेब्रा क्रसमा एउटा कुकुर, हामी बाँचेको युग, छुट्नुअघि, बा, काल, आरनमा तिमी र म, नहारेको मान्छे लगायतका कविता वाचन गरे। 

उनले कलाकर्मीको स्तरबारे पनि आफ्नो धारणा राखेका थिए। 'एकथरी कलाकार जो जीवनभर जे कर्म गर्छन्, त्यसको फल पाउँछन्। अर्काथरी जीवनभर कुकुरले नपाएको दु:ख भोग्छन् तर मरेपछि मानसम्मान पाउँछन्,' उनले भने, 'तेस्रो खालका चाहिँ जीवनभर भयंकर दु:ख भोग्छन् र मरेपछि कसैले वास्ता गर्दैन। हो, मलाई त्यस्तै बन्न मन छ।'  

मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्

म चाहन्छु हुन निर्मल पानीको थोपा
जुन थोपाको मात्रै महत्व छैन
म चाहन्छु बन्न शीतल हावाको झोँक्का
जुन झोँक्काको मात्रै मूल्य छैन

मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्

म चाहन्छु हुन यस्तो रुखको पात
जुन पात कसैले देखेको छैन
म चाहन्छु बन्न त्यस्तो प्राचीन कला
जुन आज कसैले सम्झेको छैन

मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्।