रामपुर (पाल्पा)– पशुमा कृत्रिम गर्भाधान गराउने कार्यमा कृषकको आकर्षण बढ्दै गएको छ।
जिल्लाका १६ स्थानबाट दिइएको उक्त सेवाबाट गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कार्यमा कृषक आकर्षित भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा आव २०४२÷४३ बाट पशुमा कृत्रिम गर्भाधान सेवा शुरु गरिएको हो।
आव २०७३÷७४ मा तीन हजार ४२ पशुमा कृत्रिम गर्भाधान सेवा दिइएको वरिष्ठ पशु विकास अधिकृत डा प्रदीप शर्माले जानकारी दिए। गाई एक हजार ९३७, भैँसी एक हजार ९७ र बाख्रा आठवटामा कृत्रिम गर्भाधान गरिएको थियो । आव २०७२÷७३ मा गाई दुई हजार २९४, भैँसी ८६६, बाख्रा ७२ गरी कूल तीन हजार ३४ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो।
आव २०७१÷७२ को तथ्यांकअनुसार भैँसी एक हजार १७४, गाई एक हजार ६४२ र बाख्रा २४ मा कृत्रिम गर्भाधान गरिएको थियो भने आव २०७०÷७१ मा भैंसी एक हजार ४३, गाई एक हजार ४८३ र बाख्रा १२६ पशुमा कृत्रिम गर्भाधान गरिएको अधिकृत डा शर्माले बताए। गाउँमा उन्नत जातको साँढेको अभाव र हाडनाता बढेकाले गाईभैँसीले साँढे, राँगो, बहर खोजेमा लैजान र ल्याउन झन्झट हुने हुँदा घरदैलोमै पशुसेवा कार्यालयले सुविधा दिँदा सहज भएको कृषक बताउँछन्।
कृत्रिम गर्भाधान गराइएका गाईभैँसीको दूधको उत्पादन समेत बढेको छ । कृत्रिम गर्भाधानले दूधको उत्पादन बढ्ने र उन्नत नश्ल सुधार हुने भएपछि हिजोआज गाउँघरमा साँढे, राँगो र बहर पाल्ने कृषकको संख्या न्यून रहेको पशु चिकित्सक डाक्टर उत्तम आचार्य बताउछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।