जब कतै गएर
घर फर्किन्छन्
मेरी बहिनी, श्रीमती
भाउजु, भान्जी
कहिलेकाहीं त आमा
र भर्खरै हुर्किंदै गरेकी छोरीसमेत
बोकेर आउँछन्
शरीरभरी, मनभरी
दुर्नजरले
दुर्वचनले
दुर्व्यवहारले
पोलेका घाउहरु
उनीहरुसँगै टाँसिएर आइपुग्छन्
कामुक नजरका डोबहरु
सयौं आँखाले पोलेका खतहरु
कति उच्छृंखल वचन
कति कुण्ठित छुवाईका सुम्लाहरु
उनीहरुका शरीर हुँदै पग्लने
कुण्ठाका लाभाहरु
मेरी बहिनी, श्रीमती
भाञ्जी, काकी, माइजु, भाउजु
आमा र सानी छोरी समेतको
शरीरमा, मनमा टाँसिएर
उनीहरुलाई हरदम बिथोलिरहने
आफैंसँग रिस उठ्ने बनाइरहने
मेरो घरसम्मै
उनीहरुको जीवनसम्मै आइपुग्ने
सपना/विपना जताततै बिथोलिरहने/तर्साइरहने
पल–प्रतिपल आफैंसँग झसङ्ग/सतर्क बनाइरहने
त्यो आँखा
त्यो वचन
त्यो छुवाई
तपाईंको पनि हुनसक्छ
त्यो कुण्ठित लाभा
तपाईं पनि हुन सक्नुहुन्छ
कहिलेकाहीं सोच्छु एक्लै–एक्लै
कतै मेरो नजर पनि
वचन पनि
कुण्ठा पनि
कतै टाँसिएर
कसैलाई बिझाइरहेको पो छ कि?
कतै तपाईंको घरसम्म आइपुगेको छ कि?
कसैको जीवनसम्मै घोचिरहेको पो छ कि?
के तपाईं पनि
कहिलेकाहीं आफैंलाई सोध्नुहुन्छ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।