बाँके कोहलपुरकी ४७ वर्षीया आरती पौडेल ०४१ देखि राजनीतिमा सक्रिय छिन्। अनेरास्ववियुबाट राजनीति सुरु गर्दै ०६० सालमा अखिल नेपाल महिला संघ बाँकेको अध्यक्ष भएकी पौडेल अहिले एमाले बाँकेको जिल्ला सल्लाहकार कमिटि सदस्य र अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य छिन्।
कोहलपुरको ग्रिन पिस बोर्डिङ स्कुलकी सञ्चालक रहेकी पौडेलले कार्यकर्ताबीच प्रतिस्पर्धा गरेरै प्रदेशसभामा बाँके क्षेत्र नम्बर १ ख बाट टिकट पाएकी छन्। राजनीति, व्यवसाय र समाजसेवालाई एकसाथ अगाडि बढाउँदै आएकी पौडेलसँग कृष्ण अधिकारीले गरेको कुराकानीः
महिलालाई त टिकट पाउनै गाह्रो, टिकट पाएपछि चुनाव जित्नै गाह्रो हुन्छ भन्छन्, कस्तो भइरहेको छ चुनावी अभियान?
राजनीतिलाई निरन्तरता दिन महिलालाई गाह्रै छ। राजनीतिमा सक्रिय भए पनि राजनीतिक अवसरका साथै चुनावमा टिकट पाउन अझ गाह्रो छ। तर, मलाई पार्टीले विश्वास गरेर प्रदेशसभामा प्रत्यक्षतर्फको टिकट दियो। पार्टीका कार्यकर्ता, दिदीबहिनी, शुभेच्छुक र मेरो विद्यालयका पूर्वविद्यार्थीको सहयोगमा म चुनाव प्रचारमा जुटेकी छु। मैले सबैतिरबाट राम्रो प्रतिक्रिया पाइरहेकी छु। म निकै उत्साहित छु।
तपाईंका चुनावी एजेन्डाहरु के–के छन्?
हाम्रो मुख्य एजेन्डा भनेको विकास र समृद्धि हो। कोहलपुरलाई आधुनिक र औद्योगिक शहर बनाउने, पूर्वाधारहरुको विकास गरेर शैक्षिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु नै हाम्रा एजेन्डा हुन्। त्यसैगरी कोहलपुरमा क्रिकेट मैदान निर्माण, सिटी हल, कभर्ड हल निर्माण गर्ने, रोजगारीका अवसरहरु सिर्जना गर्ने हाम्रो लक्ष्य छ।
जनताले तपाईंलाई भोट किन दिने?
म राजनीतिसँगै समाजसेवाका क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय छु। महिला उपकार मञ्चमार्फत मैले महिला हकहित र अधिकारका क्षेत्रमा विभिन्न काम गरेकी छु। महिलाहरुको आयआर्जन र क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रममार्फत टेवा पुर्याएकी छु। विद्यालय सञ्चालन गरेर यस क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुर्याएकी छु। महिलाहरुको सशक्तिकरढा र विकासका लागि काम गर्नेछु।
मैले जहाँ जेजस्तो अवसर पाएँ, ती सबै अवसरलाई इमानदारीसाथ पूरा गरेकी छु। म यस क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन सक्षम छु। त्यसैले यस क्षेत्रमा मतदाताहरुले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास गरेकी छु।
तपाईंका क्षेत्रका खास समस्या के के हुन्, त्यसलाई कसरी समाधान गर्नुहुन्छ?
हाम्रो क्षेत्रका मुख्य समस्या भनेको अव्यवस्थित बसोबास, पूर्वाधारहरुको अभाव हो। वर्षाैंदेखि बसोबास गर्दै आए पनि धेरै मानिसले जग्गाको लालपुर्जा पाएका छैनन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उहाँहरुलाई लालपुर्जा उपलब्ध गराउने, सडक, खानेपानी र विद्युतीकरण जस्ता पूर्वाधारहरुको विकास गरेर कोहलपुरलाई आधुनिक र समृद्ध शहरको रुपमा विकास गर्ने, रोजागरीको अवसर सिर्जना गर्ने लगायत क्षेत्रमा मैले प्रयत्न गर्नेछु। यो सम्भव छ र ती योजनालाई अगाडि बढाउन म सक्षम पनि छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।