नयाँ दिल्ली– चक्कु प्रहारबाट घाइते भएका चर्चित बलिउड अभिनेता सैफ अली खानले आफ्नो उपचारका लागि करिब ३५ लाख ९५ हजार भारतीय रुपैयाँ बराबरको बीमा दाबी गरेका छन्।
बुधबार उनको फ्ल्याटमा चोर्ने उद्देश्यले घुसेका एक व्यक्तिले सैफलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। गम्भीर घाइते भएका सैफको ढाडबाट अस्पतालमा करिब साढे दुई इन्चको चक्कुको टुक्रा निकालिएको थियो।
उनले उपचारका लागि मेठिकल बीमा दाबी गरेको पत्र अहिले सार्वजनिक भएको छ। जसमा उनले ३५ लाख ९५ हजारको बीमा रकम दाबी गरेका छन्। उनको स्वास्थ्य बीमा फारम माइक्रोब्लगिङ प्लेटफर्म एक्सबाट बाहिरिएको हो। सैफले निवा बुपा पोलिसी लिएका थिए।
हाल उपचाररत रहेका सैफको उक्त दाबीको पत्र बाहिरिएपछि निवा बुपाले आक्रमणको निन्दा गर्दै स्वास्थ्य लाभको कामना गरेको छ। साथै कम्पनीले दाबी गरिएकोमध्ये २५ लाख भारु स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
अहिले उनको मुम्बईस्थित लीलावती अस्पतालमा उपचार भइरहेको छ। कैयौं घन्टा लगाएर अप्रेसन गरिएको उनको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको चिकित्सकले जनाएका छन्। जनवरी २१ अर्थात् मंगलबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।