रुकुम- पहिलो चरणको निर्वाचनका क्रममा स्थगित भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुने भएको छ।
मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि गत १० गते जारी सो केन्द्रको मतदान स्थगित भएको थियो।
मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एकएक मतदान केन्द्रमा पुनः मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानका लागि कर्मचारी खटाएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।
बाँफीकोट गाउँपालिका– ५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने उनले बताए।
दुवै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।
बाँफीकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृतसमेत रहेका तेजप्रसाद पौडेललाई खटाइएको छ भने आठबिसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँबर मतदान अधिकृतका रुपमा खटिएका छन्।
बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत खसेको थियो। आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेको थियो। दुवै मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो। एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबीसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।